काठमाडौं, फागुन २१
प्रधानमन्त्री केपी शर्मा ओलीको सबै रिपोर्ट सामान्य आएको छ । उहालाई मिर्गौला प्रत्यारोपण अघि गरिएका सबै स्वास्थ्य रिपोर्ट सामान्य आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
रिपोर्ट सामान्य आएसँगै शल्यक्रिया कक्षमा लगिएको छ । रिपोर्ट नआएपछि विहान ९ बजेबाट शुरु गर्ने भनिएको प्रत्यारोपणमा केही समय ढिलाई भएको थियो । अहिले शल्यक्रियाको प्रक्रिया शुरु भएको छ । अबको करिव ५ घण्टाभित्र शल्यक्रिया सकिने चिकित्सकले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओली प्रत्यारोपण पूर्व मंगलबार ‘डायलसिस’ गरिएको थियो भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको थियो। शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको थियो। यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका थिए ।
ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारसमेत हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्