काठमाडौं, फागुन २२
विश्व बैंकले नोभेल कोरोना भाइरस (कोभिड–१९) को असर न्यूनीकरण गर्न १२ अर्ब अमेरिकी डलरको आपत्कालीन सहयोग घोषणा गरेको छ । विकासशील राष्ट्रका लागि यो सहयोग फास्ट ट्रयाकबाट उपलब्ध गराइने बैंकले जनाएको छ ।
नोभेल कोरोना भाइरस अहिलेसम्म ८० भन्दा बढी देशमा फैलिसकेको छ । यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव सिर्जना गर्न सुरु गरिसकेको परिप्रेक्ष्यमा विश्व बैंकले प्रारम्भिक रूपमा घोषणा गरेको १२ अर्ब डलर आपत्कालीन सहयोग स्वास्थ्य समस्या र आर्थिक प्रभावसँग जुझ्न खर्च गरिनेछ । यो सहयोग महामारीको असर न्यूनीकरण गर्न डिजाइन गरिएको हो ।
फास्ट ट्रयाक प्याकेज अन्तर्गत विश्व बैंकले स्वास्थ्य प्रणाली सुधार, स्वास्थ्य सेवामा राम्रो पहुँच, महामारीबाट सुरक्षा, रोगप्रकोपको निगरानी वृद्धि, जनस्वास्थ्य सुधार र निजी क्षेत्रसँगको सहकार्यमा आर्थिक असर न्यूनीकरणका क्षेत्रमा काम गरिने उल्लेख छ । राष्ट्रिय आवश्यकताअनुसार विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संघ (आइडीए), पुनर्निर्माण र विकासका लागि अन्तर्राष्ट्रिय बैंक (आईबीआरडी) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले आपसमा मिलेर काम गर्नेछन् । १२ अर्ब अमेरिकी डलर सहयोगमध्ये ८ अर्ब नयाँ सहयोग रकम हो । बाँकी ४ अर्ब विश्व बैंक र आईएफसीका विद्यमान पोर्टफोलियोलाई पुनःप्राथमिकीकरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्