जनता टाइम्स

२३ फाल्गुन २०७६, शुक्रबार ०८:१४

प्रतिनिधिसभाको बैठक बस्दै : कालापानीबाट भारतीय सेना हटाउन सार्वजनिक महत्वको संकल्प प्रस्ताव पेश गर्ने तयारी


 

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा नेपाली भूभागमा रहेका भारतीय सेना हटाउन संकल्प प्रस्ताव पेश हुने सम्भावित कार्यसूची छ ।

‘सासद खगराज अधिकारीले ‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कटियाङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकोले’ भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने’, संसद सचिवालयले जारी गरेको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ ।

यो प्रस्तावको सांसद रामकुमारी झांक्रीले समर्थन गर्ने पनि कार्यसूचीमा उल्लेख छ । यस्तै आजको बैठकमा कांग्रेस सांसद गगन थापाले कोरोना संक्रमणको जोखिमबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

सांसद गगन कुमार थापाले ‘विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरु सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोना विरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नु पर्ने भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुने’, सम्भावित कार्यसूचीमा उल्लेख छ ।