जनता टाइम्स

३ जेष्ठ २०७६, शुक्रबार ०८:१५

अर्को साता पुन: सगरमाथा चढ्ने कीर्तिमानधारी आरोही कामिरिताको घोषणा


काठमाडौं ।

कीर्तिमानधारी आरोही कामिरिता शेर्पाले अर्को हप्ता फेरि सगरमाथा चढ्ने घोषणा गर्नुभएको छ । कामिरिताले मङ्गलवार २३औँ पटक विश्वको सर्वोच्च शिखरमा टेक्दै सबैभन्दा बढी पटक सगरमाथा चढ्ने आफ्नै कीर्तिमान भङ्ग गर्नुभएको थियो ।

‘तेइसौँ पटक चढ्दो एकदमै खुसी लागेको छ’, ४९ वर्षीय कामिरिता शेर्पाले सगरमाथा आधार शिविरबाट भन्नुभयो, ‘यो ऋतुमा अब फेरि चढ्छु ।’ सगरमाथा आरोहणका लागि अबको उपयुक्त दिन मे २२ को आसपासमा हुने बताइएको छ। कामिरिता शेर्पाको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले उनको दोस्रो आरोहणका लागि प्रशासनिक काम भइरहेको जानकारी दिनुभयो । ‘अहिलेसम्म उहाँलाई कुरिरहेका थियौँ। उहाँले आधार शिविरमा आएर फेरि चढ्ने बताउनु भएको छ। हामी अहिले त्यसका लागि आवश्यक कागजी प्रक्रिया गरिरहेका छौँ’,मिङ्मा शेर्पाले भन्नुभयो,‘उहाँलाई विश्वभरिबाट बधाई आइरहेको छ। उहाँ एकदमै खुसी हुनुहुन्छ, शारीरिक र मानसिक रूपमा तयार हुनुहुन्छ। उहाँ फेरि सगरमाथा चढ्नुहुन्छ।’

एकै याममा दुई पटक सगरमाथा चढ्नु नौलो कुरो होइन। कामिरिताले यस अगाडी पनि तीन आरोहण याममा दुई दुई पटक सगरमाथा चढिसक्नु भएको छ । उहाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढ्नुभएको थियो । सन् २०१२ मा पनि उहा दुई पटक चुचुरोमा पुग्नु भएको थियो तर आधार शिविर नआईकन चौथो शिविरबाटै पुनः माथि लागेकोले त्यसले छुट्टै आरोहणको मान्यता पाएन।

सोलुखुम्बुको थामे गाउँमा जन्मु भएका कामिरिता मङ्गलवार २३‌‌औँ पटक सगरमाथा शिखरमा पुग्नु भएको थियो । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गर्नुभएका शेर्पाले ५० वर्षको उमेरमा २५ पटक सगरमाथाको चुचुरोमा टेकेपछि विश्राम लिने बताउनु भएको छ । उहा अर्को वर्ष ५० वर्षको हुने भएकाले आफ्नो लक्ष्य प्राप्तिका लागि फेरि सगरमाथा चढ्ने प्रयास गर्न लागेको बताइएको छ।