जनता टाइम्स

२३ फाल्गुन २०७६, शुक्रबार १०:५४

तीन दिनमै ४ हजार २ सय रुपैयाँले बढ्यो सुन


काठमाण्डौ, फागुन २३

अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता आकर्षित हुँदा सुनको भाउ झन् महँगो हुँदै गएको छ । पछिल्लो तीन दिनमा सुनमा प्रति तोला ४ हजार २ रुपैयाँले बढेको छ ।

सुनको भाउ शुक्रबार तोलामा १ हजार ८ सय रुपैयाँ बढेर तोलाको ८२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कोरोना भाइरसका कारण विश्व नै आर्थिक मन्दीतिर गइरहेकाले लगानीकर्ता सुनतिर आकर्षित भएका हुन् ।

लगानीकर्ता सुनमा आकर्षित हुँदा सुन अन्तर्राष्ट्रिय बजारमै महँगो भएको र डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा नेपालमा झन् महँगो भएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिले जनाएको छ । अन्तर्राष्ट्रियस्तरमा नेपालको विनिमय दर भारतीय रुपैयाँमा भर पर्ने भएकाले असर गरेको हो ।

यो हप्तामात्रै सुनको भाउ तोलामा चार हजार पाँच सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार घटबढ भएन । मङ्गलबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको भाउ बुधबार भने एकैदिन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको थियो ।

बिहीबार फेरि तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार तोलामा एक हजार आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै महँगो तोलाको ८२ हजार पाँच रुपैयाँ पुगेको हो । चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।