जनता टाइम्स

२४ फाल्गुन २०७६, शनिबार १९:१९

गृहले भन्यो-नेपालमा कोभिड–१९ संक्रमण भएका व्यक्तिहरू पत्ता लागेको छैन, हल्लाका पछाडि नलागौं


काठमाडौं, फागुन २४ । विश्वभर कोरोनाभाइरसको संक्रमण फैलिरहेको बेला नेपालमा पनि यसबारे सचेत र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम देशको सूचीमा दर्ज गरेपछि सरकारले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

यसैबीच गृह मन्त्रालयले कोरोनाभाइरसबारे उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीमा नलाग्न आग्रह गरेको छ । गृह मन्त्रालयले आज सूचना नै जारी गरेर कोरोनाबारे भ्रमपूर्ण समाचारको पछि नलाग्न सचेत गराएको हो । ‘हालमा नेपालमा कोभिड–१९ संक्रमण भएका व्यक्तिहरू पत्ता लागेको छैन र यसको प्रसार समुदायमा भएको अवस्था पनि छैन । यस सम्बन्धमा उत्पन्न गरिएका विभिन्न प्रकारका हल्ला र प्रचारबाजीका पछाडि नलागौं’, गृहको सूचनामा भनिएको छ ।

कोरोनाबारे अनावश्यक भ्रम फैलाएर उपभोग्य वस्तु कालो बजारी नगर्न पनि गृह मन्त्रालयले सचेत गराएको छ । यदि कहीँकतै त्यस्तो भेटिए सम्बन्धित निकायमा खबर गर्न समेत गृहल भनेको छ । गृहले बढी भीडभाड हुने स्थानमा नजान पनि सुझाएको छ ।