जनता टाइम्स

२८ फाल्गुन २०७६, बुधबार १४:०७

यातायात ब्यवस्था बिभागले दियो टुटल र पठाओ सेवा बन्द गर्न निर्देशन, यस्तो छ कारण


काठमाडौं, फागुन २८ । सरकारले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न निर्देशन दिएको छ । यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जारी गर्दै अरू प्रयोजनमा दर्ता भएका सवारीले कानूनको उल्लंघन गरी भाडामा यात्रु बोकेमा कारबाही गर्ने जनाएको हो ।

टुटल र पठाओलाई कानूनविपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै ट्याक्सी व्यवसायी तथा चालकले आज धर्ना कार्यक्रम राखेपछि बिभागले मंगलवार राती नै सूचना निकालेको थियो । बुधबार विभाग घेराउ गरेका थिए । टुटल र पठाओ नामा उल्लेख नगरी जारी भएको सूचना कार्यान्वयन गरिएमा निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन् । विभागले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही थालिने बताएको छ ।

२०७५ माघमा पनि विभागले यस्तै कारवाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारबाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिनुभएको थियो । त्यसपछि भएको साम्य भएको विषय गत मंसिरमा फेरि उठेको हो । यातायात विभागले मंसिरको ४ गते सूचना निकालेर टुटल र पठाओको सेवा बन्द गर्न भनेको थियो । त्यसपछि ट्राफिक प्रहरीले सडकमा टुल तथा पठाओका चालकलाई कारवाही थालेको थियो । विवाद चर्किएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले टुटल पठाओलाई नरोक्न निर्देशन दिनुभएको थियो ।

फेरि विभागले सार्वजनिक सूचना जारी गर्दै विभिन्न प्रयोजनमा दर्ता भएका सवारीले भाडा लिएर यात्रु ओसारेको गुनासो आइरहेको भन्दै तुरुन्त त्यस्तो काम बन्द गर्न भनेको छ । सूचनामा यातायात व्यवस्था ऐनको दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको स्मरण गराइएको छ । ट्याक्सी ब्यवसायीहरुले तत्कालै कार्वाही थाल्न माग गरेका छन । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय सदस्य तथा लेखा समिति संयोजक विष्णु चौहान टुटल र पठाओमा नाममा निजी सवारीले भाडाका यात्रु बोकेकाले सरकारलाई कारवाहीका लागि दबाव दिइएको बताउनु भयो ।