जनता टाइम्स

२८ फाल्गुन २०७६, बुधबार १६:०४

राजतन्त्र ब्यूँताउन एकजुट बने पूर्वपञ्च, एकता घोषणा सभामै खोले संबिधान र गणतन्त्रबिरुद्ध फायर


काठमाडौं, फागुन २८ । संबिधानसभामार्फत फालिएको राजतन्त्र र हिन्दुराष्ट्र ब्यूँताउने घोषणासहित पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीच एकता भएको छ । राष्ट्रिय सभागृहमा आज आयोजित एक समारोहबीच कमल थापा नेतृत्वको राप्रपा तथा पुशपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकता भएको हो ।

शनिबार दुई पार्टीबीच एकता गर्ने गरी १० बुँदे समझदारी भएसँगै आज औपचारिक कार्यक्रम गरी पार्टी एकता घोषणा गरिएको छ । दुई पार्टीबीच एकता घोषणा भएपछि एकीकृत पार्टीको नाम राप्रपा नै हुनेछ भने पार्टीको झण्डा गाई रहनेछ । चुनाव चिन्हको सम्बन्धमा भने पछि निर्णय लिइने सो पार्टीले जनाएको छ । एकता समारोहमा बोल्दै अध्यक्ष थापाले हिन्दूहरुको आस्थाको केन्द्र भगवान पशुपतिनाथलाई साक्षी राखेर अब पार्टी नफुटाउने कसम खानुभयो भने राजतन्त्र र हिन्दुराष्ट्रलाई अघि बढाउने घोषणा गर्नुभयो । थापाले पार्टी नफुटाउने भन्दै राजतन्त्र ब्युँताउने बिषयमा कसम खाँदा मञ्चमा राखिएको ‘भागवात गीता’ पुस्तक समेत छुनुभएको थियो ।

समारोहमा कार्यकर्ताको माग र चाहनाअनुसार कमल थापाले आफ्नो सम्बोधनको सुरुमै भगवान पशुपतिनाथलाई साक्षी राखी गीता छुँदै आफूले पार्टी नफुटाउने कसम खानुभएको हो । थापाले आगामी दिनमा पार्टी एकता गर्न नपर्ने गरी अघि बढ्ने प्रतिवद्धता जनाउँदै पार्टी संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डामा अडिग रहने स्पष्ट पार्नुभयो । यता राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका पुत्रसमेत रहनुभएका राप्रपा नेता सुनिल थापाले भने एकता समारोह नै बहिष्कार गर्नुभएको छ ।