जनता टाइम्स

१ चैत्र २०७६, शनिबार १०:०५

अस्पताल जानु अघि र फर्केपछिको प्रधानमन्त्रीको त्यो तस्विर


काठमाडौं, चैत्र १

फागुनको १९ गते साँझ एउटा फोटो सामाजिक सञ्जालमा निक्कै भाइरल(चर्चा) भयो । जुन फोटो थियो, दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना ९० वर्षिय पितासँग लिएको आर्शिवाद ।

जो कसैको आँखा रसाउने सो फोटोको चर्चा भाइरल भयो । प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई लिएर सकरात्मक र नकरात्मक टिप्पणी गर्ने दुवै टिप्पणीकर्ता सामाजिक सञ्जालमा भेटिए । उहाले पिता मोहनप्रसाद ओलीसँग ‘बुबा जान्छु ल’ भन्दै सिर निहु¥याएर आर्शिवाद लिनुभएको थियो । जस्तो सुकै टिप्पणी आएपनि ओलीको अनुहारमा चमक कम थिएन ।

अस्पतालको बेडमा छिर्ने बेलामा पनि किन नहोस् उहाको अनुहारको चमक चिकित्सकको भन्दा उच्च थियो । चिकित्सककै भनाईलाई मान्ने हो भने शल्यक्रियाको लागि लैजानु केही समय अगाडी पनि उहा चिकित्सकलाई डाढस दिदै हुनुहुन्थ्यो । ‘तपाईहरु आफ्नो काम ढुक्कले गर्नुहोस् मलाई केही हुदैन’, प्रधानमन्त्रीले भन्नुभएको थियो । पौने पाँच घण्टाको शल्यक्रिया र त्यसैभित्रको त्यो ३९ मिनेट जसमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । दुवै कार्य सफलता पूर्वक सम्पन्न भयो ।

१२ दिनको बसाईपछि उहा शुक्रबार साँझ सरकारी निवास बालुवाटार फर्कनुभयो । यो १२ दिन पिताको मनमा के गुज्रियो त्यो त उहालाई नै सबैभन्दा बढि थाहा होला । तर, फागुन ३० गते शुक्रबारको साँझ छोरा सकुशल घर फर्किएकोमा सबैभन्दा हर्षित कोही थियो त, उहाका पिता मोहनप्रसाद । करिव पौने सात बजेतिर बालुवाटार आईपुग्नु भएका प्रधानमन्त्री ओलीलाई ९० वर्षीय मोहनप्रसाद ओलीले स्वागत गर्नुभयो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले बुवालाई ढोगेर स्वास्थ्यलाभको आर्शीवाद लिनुभयो । उहाले आफु स्वस्थ भएर फर्किएको जानकारी गराउनु भयो । उसो त उहाले अस्पतालमा पनि पितालाई नसम्झनु भएको भने होइन् । तर, संक्रमण हुने डरले कसैलाई पनि भेट्न चिकित्सकले रोक लगाएका थिए । प्रधानमन्त्री ओली भित्र भएको उच्च मनोबल र आत्मविश्वास एंव परिवारका साथसाथै नेपालीको शुभेच्छाले स्वस्थ भएर निवास फर्कनु भएको छ ।