जनता टाइम्स

१ चैत्र २०७६, शनिबार १८:३३

हटाइए उपत्यकाका सबै घुमुवा प्रहरी, यस्तो छ कारण


काठमाडौं, चैत १ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी बिश्वराज पोखरेलले आफ्नो मातहतमा रहेका तीन ओटै जिल्लाका सवै घुमुवा प्रहरी हटाउनु भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा लामो समयदेखि सादा पोशाकमा कार्यरत १७ अधिकृत र ५७ जवानसहित ७४ जनालाई सो जिम्मेवारीबाट हटाइएको हो ।

घुमुवा प्रहरीले उल्लेखनीय कार्य गर्न नसकेका कारण सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाइएको हो । आचरण व्यवहार सुधारको हिसावले पठाइएका ती अधिकृत तथा जवानहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा ७ दिने सुधारत्मक तालिम समेत संचालन गरिने प्रहरीले जनाएको छ । उनीहरुको सट्टा अब इन्टेलिजेन्ट ग्रुरुपमा कार्यरत हुने कर्मचारीहरूमा सकारात्मक आचरण व्यवहार मात्र नभएर तोकिएको जिम्मेवारीभित्र रहेर परिणाममूखी कार्यको हरेक महिना मूल्याकङ्न हुने परिपाटीको थालनी गरिने डीआईजी पोखरेलले बताउनु भयो ।

पोखरेलका अनुसार अव सादा पोशाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मुलतः प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुनेछ ।