जनता टाइम्स

३ चैत्र २०७६, सोमबार १२:०३

उपचारपछि काममा पुनः सक्रिय बने प्रधानमन्त्री ओली


काठमाडौं, चैत ३ । प्रधानमन्त्री केपी शर्मा ओली पुरानै दिनचर्यामा फर्कनुभएको छ । मिर्गौला प्रत्यारोपणपछि गत शुक्रवार निवास फर्कनुभएका प्रधानमन्त्री ओलीले आइतवार स्टेन्ट निकालेपछि दुई घण्टा कोरोनाबिरुद्धको सार्क भिडियो कन्फ्रेन्समा सहभागी हुनुभयो । प्रधानमन्त्री ओली अस्पतालबाट नियमित स्वास्थ्य परीक्षणपछि बालुवाटारमा केहीबेर आराम गरी साँझ कन्फ्रेन्समा सहभागी हुनुभएको हो ।

सो क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि सवैजसो राष्ट्र र सरकार प्रमुखहरुले प्रधानमन्त्री ओलीको शीर्ष स्वास्थ्यलाभको कामना गर्नुभएको थियो भने प्रधानमन्त्री ओली पनि छलफलमा सक्रिय रुपमा सहभागी हुनुभयो । प्रधानमन्त्री ओलीले अस्पतालबाट निवास फर्केलगत्तैबाट नियमित भेटघाट सुरु गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले शनिवार नै नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेलसहित सचिवालयका टीमसँग भेटघाट गर्नुभयो । गत फागुन २१ गते दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओली शुक्रवार साँझ निसाव फर्कनुभएको हो ।

निवास फर्केपछि उहाँले साँझबाटै कोरोना भाइरसको बिषयमा चासो लिई आवश्यक कदम चाल्न मन्त्री तथा सम्बद्ध निकायका पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले शुक्रवार साँझ नै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहितका टीमसँग छलफल गरी कोरोना नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार उपप्रम पोखरेलले आइतवार सातै प्रदेशका मुख्यमन्त्रीसहित सरोकारवाला मन्त्रालयका मन्त्री र पदाधिकारीको बैठक गरी कोरोनाबिरुद्धको सचेतना अपनाउने निर्णय लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै छलफल गर्नुभयो । सो क्रममा दुवै नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्य लाभको कामना गर्नुभएको छ । शनिवार साँझ प्रधानमन्त्री ओलीले महासचिव बिष्णु पौडेल, प्रमुख सल्लाहकार बिष्णु रिमाल, बिदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापासँग सामुहिक छलफल गर्नुभएको छ । ‘प्रधानमन्त्री नियमित काममा फर्कने प्रयाशमा हुनुहुन्छ, उहाँ स्वास्थ्यलाभसँगै दैनिक प्रशासनिक काममा पनि सक्रिय हुनुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो ।