जनता टाइम्स

४ चैत्र २०७६, मंगलवार १७:२९

नागरिक लगानी कोषले ल्यायो सबै नेपालीलाई पेन्सन दिने कार्यक्रम : सहभागी हुनेलाई यस्तो छ फाइदा


काठमाडौं, चैत ४ । नागरिक लगानी कोषले सबै नेपालीलाई पेन्सन दिने गरी नागरिक पेन्सन योजना सुरु गरेको छ । कुनै पेशा व्यवसाय वा क्षेत्रमा आवद्ध भएका र नियमित आम्दानी गर्ने नेपालीलाई लक्षित गरी कोषले नागरिक पेन्सन योजना ल्याएको हो ।

कोषले ल्याएको पेन्सन योजनामा अव आफ्नै बन्द व्यापार गर्नेहरु पनि सहभागी हुन सक्नेछन् । कोषका उपकार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलका अनुसार जागिर खानेहरुलाई पनि यो योजनाले समेट्ने छ । उहाँका अनुसार नागरिक पेन्सन योजनामा सहभागी भएकाहरुले पेन्सन योजनाबाट बाहिरिन पनि पाउने सुविधा राखिएको छ । पेन्सन योजनामा सहभागी भएका नागरिकको मृत्यू भएमा उसको श्रीमान वा श्रीमतीले पूरै पेन्सन पाउने व्यवस्थासमेत गरिएको छ । यस्तै, कोषमा जम्मा भएको रकमको ८० प्रतिशतसम्म ऋण लिन पाइने, मासिक ५ सय रुपैयाँदेखि आम्दानीको क्षमताअनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सकिने, बैदेशिक रोजगारीमा हुनेले पनि यो योजनामा सहभागी हुन पाइनेलगायतका सुविधा रहेको छ ।

यस्ता छन विशेषताहरु

सहभागिता

यस योजना अन्र्तगत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्नेछन ।

बचतको सीमा

यस कार्यक्रममा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रूपैयाँदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्नेछन । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक, वा वार्षिक रुपमा रकम जम्मा गर्न सकिने छ । यस्तो किस्ता बुझाउँदा मासिक ५ सय रुपैयाँभन्दा कम नहुने गरी बुझाउनु पर्नेछ ।

किस्ता रकम नियमित अनिवार्य

सहभागीले आफूले छनौट गरेको किस्ता अनुसारको रकम नियमित रुपमा बुझाउनु पर्नेछ । यसरी निर्धारण गरिएको किस्ता रकम समयमा दाखिला नगरेमा कोषले निर्धारण गरेको विलम्ब शुल्क तिरी किस्ता नियमित गर्न सकिने छ ।

योजनाबाट अलग हुने अवस्था

बचतकर्ताको आय स्रोत गुमेमा वा असक्तताको कारणले आय आर्जन गर्न असक्षम भएमा वा वसाई सरी अन्य मुलुकमा गएको खण्डमा यस योजनाबाट अलग हुन सकिने छ । यसरी योजनाबाट अलग हुँदा बचतकर्ताहरुले शर्त बमोजिम नियमित रुपमा बचत गरेको कम्तीमा २ वर्ष पूरा भएको हुनु पर्नेछ । यस्तो अवस्थामा बचतकर्ताको नाममा जम्मा रहेको साँवा रकम एकमुष्ठ भुक्तानी गरिनेछ ।

पेन्सन पाउन योग्य हुने अवस्था

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ ।

बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भूक्तानी लिन वा पेन्सनको रुपमा भूक्तानी लिन सक्नेछन ।

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन ।

पेन्सन गणना विधि

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउनेछन् ।

पति वा पत्नीले पेन्सन पाउने

पेन्सन पाउन योग्य सहभागीले पेन्सन प्राप्त गर्न शुरु गरेपछि निजको मृत्यु भएमा मृतकको पति वा पत्नीलाई निजले पाइरहेको रकम वराबर नै पारिवारिक पेन्सन प्रदान गरिनेछ । तर, सहभागीसँग निजको अंशबण्डा भएको भए वा वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा यो सुविधा प्रदान गरिने छैन ।

बचतकर्ताको निबृतिभरण शुरु भएपछि निज र निजको श्रीमान वा श्रीमति दुबैको मृत्यु भएमा कोषमा सम्बन्धित ब्यक्तिको नाममा बाँकी रहेको बचत रकम निजहरुको कानुनी हकदारलाई प्रदान गरिनेछ ।

कुनै बचतकर्ताको निबृतिभरण प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको नजिकको हकवालालाई निजले जम्मा गरेको रकम, त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ रुपमा प्रदान गरिने छ ।

नेपाल सरकार वा अन्यत्रबाट पेन्सन पाइरहेको व्यक्तिले कोषमा योगदान गरी निवृत्तिभरणको लागि योग्य भएमा कोषबाट पेन्सन लिन बाधा पर्ने छैन ।

योजनामा रकम जम्मा गर्ने विधि

सहभागी बचतकर्ताले जम्मा गर्नु पर्ने रकम कोषले तोकेको बैंक खातामा भौचर मार्फत वा बिद्युतीय भूक्तानीमार्फत जम्मा गर्न सक्नेछन् । बचतकर्ताले बैंकमा रकम दाखिला गरेपछि सोको जानकारी कोषलाई दिनु पर्नेछ । कोषद्वारा तोकिएको खातामा रकम जम्मा नभएमा उक्त रकमप्रति कोषको कुनै दायित्व रहने छैन ।

कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागी बचतकर्ताको नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य रुपले उल्लेख गर्नु पर्नेछ ।

रकम जम्मा गर्दा आफ्नो सही नाम र कोषले प्रदान गरेको परिचय नम्बर उल्लेख गर्नु पर्ने दायित्व सम्बन्धित बचतकर्ताको हुनेछ । गलत नाम वा परिचय नम्बर उल्लेख भई रकम जम्मा भएमा त्यसको जिम्मेवारी कोषले लिने छैन ।

ब्याज तथा प्रतिफल दिइने

यस योजना अन्तर्गत कोषमा जम्मा भएको रकममा समितिले समय समयमा निर्धारण गरेअनुसार दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा ब्याज प्रतिफल प्रदान गरिने छ ।

सापटी तथा अन्य सुबिधा

कोषले योजनाका सहभागी बचतकर्तालाई निजको नाममा जम्मा रहेको रकममा बढीमा ८० (असी) प्रतिशतसम्म सापटी प्रदान गर्न सकिनेछ ।

जुनसुकै कारणले बचतकर्ताको मुत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई दश हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराइनेछ ।

बचतकर्ताले कोषद्वारा तोकिएका प्राइभेट अस्पतालमा औषधी उपचार गर्दा लाग्ने खर्चमा छुट सुविधा प्रदान गर्न सकिने छ ।

दुर्घटनामा परीे बचतकर्ता मृत्यु हुन गएमा निजको नजिकको हकवालालाई दुर्घटना वीमा बापत एक लाख रुपैयाँ प्रदान गरिने छ ।