जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार १४:१३

भारतीय राजदुत क्वात्रासँग भूमिमन्त्री अर्यालको प्रस्ताव : थाँती रहेका विषयहरु अव टुंग्याउने समय आयो


काठमाडौं, चैत ६ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माडकुमारी अर्यालसँग भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरवारस्थित मन्त्रीको कार्यकक्षमा भएको भेटमा मन्त्री अर्यालले नेपाल–भारतबीचको सम्बन्ध कूटनीतिकसँगै अन्य सम्बन्धहरु पनि विशेष रहेको बताउनुभयो ।

भेटमा मन्त्री अर्यालले नेपाल–भारतबीचमा केही विषयहरु लामा समयदेखि थाँती रहेको र त्यो दुई देशबीचमा आपसमा छलफल गरेर समाधान गर्नुपर्ने बताउनुभयो । ‘हिजोदेखि थाँती रहेका केही विषयहरु छन । जो दुई देशबीचमा छलफल गरेर आपसमा टुङ्ग्याउनुपर्ने विषय छन,’ मन्त्री अर्यालले भन्नुभयो, ‘ती कुराहरु यहाँको कार्यकालमा अगाडी बढ्न सकोस ।’ मन्त्री अर्यालले यसअघिका राजदूतले गर्दै गरेर बाँकी कामका जिम्मेवारीहरु समेत राम्रोसँग पुरा गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

त्यस अवसरमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रसंसा गर्दै मन्त्रालयस्तरीय केही कामहरुमा दुतावासले सहकार्य गर्न सक्ने बताउनुभयो । यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय कामहरु नेपालमा भएको भन्दै राजदूत क्वात्राले ती कामहरुलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाएर लैजानका निम्ती कोशिस गरिने बताउनुभयो । ‘मेरो कार्यकालमा हाम्रो सम्बन्धको प्रगति र गतिमा कमी नआओस,’ राजदूत क्वात्राले भन्नुभयो, ‘हाम्रो दुई देशबीचमा समस्या हुने त्यस्तो ठूलो कुनै कारण छैन । रहेका विषयहरु आपसमा शान्तिपुर्वक बसेर समाधान गर्न सकिन्छ ।’