जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार १८:२३

शुक्रवारदेखि उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल खोल्दै सरकार, यस्तो छ अन्तिम गृहकार्य


काठमाडौं, चैत ६ । सरकारले उपत्यकाको विभिन्न ५ ठाउँमा सुपथ मूल्यका पसल खोल्ने भएको छ । बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार शुक्रबारदेखि उपत्यकाका विभिन्न ५ स्थानमा सूपथ मूल्यको पसल खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ । मन्त्री भट्टले शुक्रबारदेखि साल्ड ट्रेडिङले पसल खोल्न लागेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा मन्त्री भट्टले खाद्यान्न ४ देखि ६ महिनासम्मलाई पुग्ने अवस्थामा रहेको जानकारी दिनुभयो । यस्तै ८ महिनासम्मलाई पुग्ने औषधि, १० महिनासम्मका लागि पुग्ने नुन र ३ महिनासम्मका लागि पर्याप्त चिनी पनि रहेको उहाँको भनाई छ । मन्त्री भट्टले स्वास्थ, गृह र अपूर्ति मन्त्रालयले उपत्यका बाहिर पनि बजार अनुगमन गरिरहेको जानकारी पनि दिनुभयो ।

यस्तै पेट्रोलियम पदार्थको पर्याप्त भएको उल्लेख गर्दै व्यवस्थापनमा मात्रै समस्या रहेको बताउनु भयो । ‘खाद्यन्न १ क्वीन्टल लिनेले १० क्वीन्टल पनि लिएका छन । ग्यास पनि यस्तै भएको छ । जनताको घरमा छापा मार्ने स्थिति हुन्न राज्यको,’ मन्त्री भट्टले भन्नुभयो । उहाँका अनुसार केही दिनयता बजारका सिटामोलको माग बढेको छ । मास्क र ह्यान्ड स्यानिटाइजर मागअनुसार आपूर्ति गर्न नसकेको यथार्थ पनि उहाँले राख्नुभयो । उहाँका अनुसार ग्यास कालोबजारी गर्नेबाट फागुनयता मात्रै ५६ लाख ३० हजार जरिवाना भराइएको छ ।