जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार १३:०९

मुस्लिम समुदायको मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित, मदरसा पनि अनिश्चितकालिन बन्द


काठमाडौं, चैत ७ । विश्वभर महामारीको रुपमा फैलिएको नोवल कोरोना (कोभिड(१९) भाइरसबाट जोगिन मुस्लिम समुदायले घर–घरमै नमाज पढ्न सुरु गरेका छन् । हरेक शुक्रबार मस्जिदमा पढिने जुम्माको नमाज आजदेखि घरमै पढ्न सुरु भएको हो ।

नेपाली जामे मस्जिद संघका अध्यक्ष समिम अन्सारीका अनुसार कोरोनाबाट जोगिन यस्तो कामको सुरुवात गरिएको हो । सरकारले कोरोना नियन्त्रणका लागि २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णयसहित निर्देशन दिएको थियो । सरकारको सोही निर्देशन अनुसार मस्जिदको सट्टा घर वा कारखानामै नमाज पढ्न थालिएको अन्सारीले जानकारी दिनुभयो । अन्सारीका अनुसार मदरसाहरूको पठनपाठन पनि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गरिएको छ ।

सरकारको निर्णयलगत्तै मुस्लिम आयोगले मदरसा, मस्जिदका प्रतिनिधिहरूलाई बोलाएर यस विषयमा छलफल गरेको थियो । आयोगले दशवटा मस्जिदलाई पत्राचार गरेर घरमै नमाज पढ्ने व्यवस्था मिलाउन सुझावसमेत दिएको थियो ।

‘मुस्लिम समुदायले नियमित रुपमा पढिने नमाज र शुक्रबारका दिन पढिने जुम्माको नमाज सकेसम्म घर, कलकारखाना आदिमा पढ्ने र मस्जिदमा सकेसम्म कम उपस्थितिमा पढ्ने, पढाउने, मदरसाहरूमा पठनपाठन बन्द गराउने र अति आवश्यक नभइ कुनै पनि कार्यक्रममा सहभागी नहुन सम्बन्धित सबै मुस्लिम समुदायमा अनुरोध गर्ने निर्णय गरियो,’ आयोगको पत्रमा भनिएको छ ।