जनता टाइम्स

८ चैत्र २०७६, शनिबार ०७:४९

कोरोना भाइरसबारे डब्लूएचओ दियो युवा पुस्तालाई यस्तो सुझाव


 

काठमाडौं,  चैत ८। विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको जोखिममा युवा पनि रहेकाले सचेत हुन सुझाव दिएको छ ।

बुढाबुढीमा जोखिम उच्च रहेको पाइएपनि युवा पनि सचेत हुनुपर्नेमा संगठनले जोड दिएको हो । विभिन्न देशमा कोरोनाका कारण युवाको तुलनामा बुढाबुढीको ज्यान गएको पाइएपछि सतर्कता नअपनाएको पाइएकाले संगठनले युवा पनि जोखिममा रहेको भन्दै सचेत हुन आग्रह गरेको हो ।

अध्ययनले कुनै पनि उमेर समूहका मानिसमा कोरोनाको संक्रमण हुनसक्ने तर बुढाबुढी र दीर्घरोगी बढी जोखिममा रहेका देखाएको छ । कोरोना भाइरस संक्रमित ११ हजारभन्दा धेरै मानिसको स्वासप्रश्वासका कारण ज्यान गएको पाइएको छ ।

अहिलेसम्म विश्वका १ सय ८५ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा गरी २ लाख ७५ हजार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९० हजार ९ सय ४३ जना उपचारपछि निको भएका छन् भने १ लाख ७२ हजार ७ सय १६ जना उपचार गराइरहेका छन् । ११ हजार ३ सय ७० जनाको ज्यान गएको छ ।

इटालीमा औसतमा साढे ७८ वर्षका मानिसको ज्यान गएको पाइएको छ । चीनमा कोरोनाका कारण ज्यान गुमाउने १ प्रतिशतभन्दा थोरै मानिस ५० वर्षमुनिका रहेको न्यूयोर्क टाइम्सले जनाएको छ । तर १५ प्रतिशतभन्दा धेरै ८० वर्ष उमेर कटेका रहेका पाइएको छ ।