जनता टाइम्स

९ चैत्र २०७६, आईतवार ०७:२७

आइतबार सात बजेदेखि बेलुका नौ बजेसम्म भारतभर लागू हुनेगरी ‘जनता कर्फ्यू’ घोषणा


काठमाडौँ,  चैत ९ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भारतको राजधानी दिल्लीमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस्तो घोषणा गरेका हुन् ।

उनले सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कुनै पनि सेमिनार तथा सम्मेलनका लागि समेत प्रतिबन्ध लगाइएको बताए । जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कुनै पनि सेमिनार तथा सम्मेलनमा धेरै व्यक्ति भेला हुन निषेध गरिएको केजरीवलालको भनाइ छ ।

यदि पाँचजना भन्दा बढी भेला हुनु नै परेमा एक व्यक्तिबाट अर्को व्यक्तिसम्मको दूरीलाई एक मिटरभन्दा बढी फरक गर्न केजरीवालको आह्वान छ । दिल्ली सरकारले यसअघि केही दिन पहिले २० जनाभन्दा बढी व्यक्तिलाई भेला हुन निषेध गरेको सूचना जारी गरेको थियो ।

कोभिड–१९ सङ्क्रमण नियन्त्रण र रोकथाम प्रयास अनुसार आइतबारदेखि दिल्ली मेट्रो सेवाका यातायातका साधन पनि दिल्लीमा गुड्ने छैनन् । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सात बजेदेखि बेलुका नौ बजेसम्म भारतभर लागू हुनेगरी ‘जनता कर्फ्यू’ घोषणा गरिसकेका छन् ।