काठमाडौं, चैत ९
भारतबाट नेपाल आएको सबै नेपाली अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । केहीदिनदेखी भारतबाट नेपाल आउनेको लर्को सिमामा देखिएपछि कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले यस्तो कदम चालेको हो ।
गृहमन्त्रालयले भारतीय सीमाबाट भित्रिएका सबै नेपाली नागरिकलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । त्यस्ता नागरिकको निगरानी गर्न नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई पनि निर्देशन दिइएको छ ।
गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीका अनुसार आइतबार देशभरका प्रमुख जिल्ला अधिकारी,नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिपत्र गर्दै कोरोनाको सम्भावित जोखिम न्यूनिकरणका लागि निर्देशन दिइएको बताउनु भयो ।
गृहको परिपत्रअनुसार सीमाबाट भित्रिएका नागरिकको संक्षिप्त व्यक्तिगत विवरण अभिलेख राख्ने, कुन जिल्ला र स्थानीय तह जान लागेको हो त्यसको समेत विवरण तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्न स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई पठाउने व्यवस्था गर्न निर्देशन दिइएको छ । सोही विवरणका आधारमा सीमाबाट भित्रिएका नेपाली सेल्फ क्वारेन्टाइन बसे–नबसेको नियमित अनुगमन गर्ने र स्थानीय पालिकाहरुलाई सोही अनुसार अनुगमन गर्न पनि गृहले आइतबार निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्