जनता टाइम्स

१० चैत्र २०७६, सोमबार ०९:५७

प्रहरीको निर्देशन : कोरोनाबाट बच्न घरभित्रै बस्नोस


काठमाडौं, चैत १० । ‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै घरभित्रै बस्नोस,’’ महानगरीय प्रहरी कार्यालयले आइतबारबाट यस्तो सन्देशमूलक नारासहित कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणविरुद्ध अभियान सञ्चालन थालेको छ । प्रहरीले सर्वसाधारणको भीडभाड लाग्ने स्थानमा निगरानीसमेत अघि बढाएको छ ।

प्रत्येक सडकचोक, बस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा समेचतना फैलाउन थालिएको छ । अति आवश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ । सरकारले कोरोना सङ्क्रमण रोक्न गरेको निर्णय कार्यान्वयन गर्न सर्वसाधारणको सुरक्षाका लागि ‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थ घरभित्रै बस्नुहोस्,’’भन्ने सन्देश बनाई सतर्कता अपनाउन आग्रह गरिएको महानगरीय प्रहरी प्रमुख डिआइजी बिश्वराज पोखरेलले जानकारी दिनुभयो ।

सर्वसाधारण अनावश्यक रूपमा बाहिर निस्किँदा प्रहरी कर्मचारी पनि प्रभावित हुन सक्छन भन्दै पोखरेलले थप्नुभयो, ‘‘नागरिकको सुरक्षाका लागि प्रहरी सडकमा खटेको छ । अफ्ठ्यारो पर्दा प्रहरी सहयोग गर्न घरघरमै आइपुग्छ । तयारी अवस्थामा राखिएको छ ।’’ सर्वसाधारण नागरिकमा समस्या देखिने वित्तिकै आवश्यक सुविधाका लागि महानगरीय प्रहरीले प्रहरी अस्पतालको एम्बुलेन्स र प्रहरी भ्यान प्रयोग गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिरामीको सुविधाका लागि डोर टु डोर सेवा गरिएको हो ।

सर्वसाधारणको बाक्लो भीड लाग्ने काठमाडौँ, ललितपुर र भक्तपुरका मुख्य बजार क्षेत्रहरूमा पनि बन्द गर्ने विषयमा प्रहरी छलफलमा जुटेको छ । महानगरीय प्रहरी अन्तर्गत प्रहरी महाशाखा, प्रहरी परिसर, गण, गुल्म, वृत्त र प्रभागको सरसफाइका अतिरिक्त त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई मास्क प्रयोग, साबुनपानीले हात धुने, अनावश्यक व्यक्तिसँग भेट नगर्ने, भीडभाड हुन नदिने र ब्यारेकमा बेडको दूरी बढाउन निर्देशन दिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित विपद् नियन्त्रण प्रतिकार्य योजना अनुसार शङ्कास्पद बिरामीदेखि मृतकको शव व्यवस्थापनसम्म प्रहरीको भूमिका अग्रपङ्क्तिमा हुने भएकाले प्रहरी कर्मचारीलाई नै सुरक्षित राख्न महानगरीय प्रहरीले उक्त प्रतिकार्य अभियान सञ्चालन गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाक्षेत्रीले भ्रम र अफवाह फैलाउने र कालोबजारी गर्नेविरुद्ध कडाइ गरिएको बताउनुभयो ।

सार्वजनिक यातायात तथा हवाई सेवाको टिकट, खाद्यान्न लगायतका उपभोग्य वस्तुको कालोबजारी गर्नेविरुद्ध कारबाही सञ्चालन गरी उपत्यकाबाट मात्र ५० जनाभन्दा बढी पक्राउ परेका छन् । कोरोना त्रासका कारण सीमा नाकामा भारतबाट घर फर्किनेको चाप बढेसँगै उनीहरूको स्वास्थ्य परीक्षणका लागि प्रहरीले ३६ जिल्लामा १२८ नाकामा हेल्प डेस्क राखेको छ । तीमध्ये तराईका ६९ नाकामा स्वास्थ्यकर्मी खटिएका छन् ।