जनता टाइम्स

४ जेष्ठ २०७६, शनिबार १३:३५

एनआरएनए अमेरिका निर्वाचन : पौडेल र साहले २०९३ मतदाता नक्कली बनाएको खुलासा


न्यूयोर्क, जेठ ४

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले दुई हजार भन्दा बढी फर्जी मतदाता बनाएको तथ्य खुलेको छ । चुनावको मुखैमा छानविन समितिले एनआरएनए अमेरिकाका बर्तमान नेतृत्वले आफू अनुकुल निर्वाचन जिताउन फर्जी मतदाता बनाएको तथ्य खुलेको हो ।

एनआरएनए अमेरिकाका अध्यक्ष डा केशव पौडेल र हाल अध्यक्षका उम्मेद्वार सुनिल साहले यस्तो फर्जी मत बनाएको आरोप लागेको छ । एनआरएनए अमेरिका अन्तरिक प्रमाणीकरण समितिका सदस्य शैलेन्द्र श्रेष्ठले नै फर्जी मतको बिषयमा मुख खोल्नुभएको छ ।

श्रेष्ठका अनुसार रामकुमार सुबेदी, बाल जोशी र पवन योञ्जनले बार्षिक साधारण सभाले निर्देशिक गरेको निर्देशिका अनुसार सम्पूर्ण प्रमाणहरु हेरेर प्रमाणीकरण गरेको ६ हजार ७ सय ४३ जनालाई सुपरिवेक्षण समितिले प्रमाणिकरण गरेको थियो । सो समितिमा श्रेष्ठसहित रुद्र अर्याल र प्रमोद सिटौला हुनुहुन्थ्यो । तर चुनावमा धाँधली गरेर जित्नका लागि बर्तमान एनआरएनए नेतृत्वले आफ्नो ‘गेमप्लान’ अनुसार हार्डड्राईभ या पेनड्राईभमा संचित गरिएका २ हजार ९३ सदस्यलाई मतदाता बनाएको पाइएको हो । अमेरिकामा रहेका सवै मतदाताले यो कामको कडा बिरोध गरेका छन । अध्यक्षका प्रत्यासीद्वय सञ्जय थापा र सूर्य लम्सालसहित सवैजसो उम्मेदव्वारले पनि बिरोध गर्दै मतदानको अधिकार दिन नहुने बताउनु भएको छ ।

‘एनआरएनए अमेरिका अन्तरिक प्रमाणीकरण समितिका तीन जना राम कुमार सुबेदी, बाल जोशी र पवन योञ्जनले बार्षिक साधारण सभाले निर्दे्शित गरेको निर्दे्शिका अनुसार सम्पूर्ण प्रमाणहरु हेरेर प्रमाणीकरण गरेको ६ हजार ७ सय ४३ जनालाई हाम्रो सुपरिवेक्षण समिति (रुद्र अर्याल, म र प्रमोद सिटौला) ले प्रमाणित गरेका हौँ, अब अहिले जिम्मेवारी दिईएका अधिकार प्राप्त व्यक्तिहरु बाहेककाहरुले आफ्नो ‘गेमप्लान’ अनुसार हार्डड्राईभ या पेनड्राईभमा संचित गरिएका २ हजार ९३ सदस्यलाई मतदानको अधिकार दिईनु न्यायसंगत हुँदैन,’ प्रमाणिकरण समितिमा रहनुभएका शैलेश श्रेष्ठको भनाई छ । उहाँले चुनावको नाममा बनिबनाउ नतिजा ल्याउने काम भए कडा प्रतिवादको चेतावनीसमेत दिनुभएको छ ।

‘बनिबनाउ परिणामको तयारीमा बसेकाहरुले बुझ्न जरुरी छ, त्यसरी गरिएको या जबर्जस्ती बिजेता घोषित गरिएकाहरु अमेरिकी मौजुदा कानुनको नजरमा अस्वीकार्य मात्र हुदैनन, दण्डित पनि हुन्छन,’ श्रेष्ठले भन्नुभयो । श्रेष्ठका अनुसार मतदाताको बिषयमा प्रमाणिकरण गर्ने अधिकार समितिलाई बाहेक अरुलाई छैन ।

‘अध्यक्ष डा. केशब पौडेल अथवा अन्य कसैले आफ्नो स्वार्थका लागि यन्त्रमा संचित गरेर राखेको यो २ हजार ९३ सदस्यलाई मान्यता दिन कुनै पनि अर्थमा जायज हुँदैन । आसन्न निर्वाचनका लागि सदस्य बनाउने अथवा प्रमाणीकरण गर्ने काम अध्यक्षको हुँदै होइन । हामीले बुझ्न के जरुरी छ भने त्यही कामकै लागि भनेर न्युयोर्कको बैठकले अन्तरिक प्रमाणीकरण समिति र सुपरिवेक्षण समितिको निर्माण गरेको हो,’ श्रेष्ठले भन्नुभयो ।

एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासी सञ्जय थापाले पनि फर्जी मतदातालाई मतदानको अधिकार हुन नहुने बताउनु भएको छ । ‘फर्जी मतदाता बनाएर चुनाव जित्ने बनिबनाउ गेमप्लान सच्याउनु पर्छ,’ थापाले भन्नुभयो । अर्का प्रत्यासी सूर्य लम्सालले पनि कडा आपत्ति जनाउनु भएको छ ।

‘पेनड्राइभमा भोट राखेर चुनाव जित्ने योजना आपत्तिजनक हो, यस्ले एनआरएनएको मर्यादा, गरिमा र प्रतिष्ठा सवै घटाउँछ,’ लम्सालले भन्नुभयो । कोषाध्यक्षका उम्मेदवार रविन बज्राचार्य, प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाका अध्यक्ष प्रभु थापाले पनि फर्जी मतदाता बनाएर चुनाव जित्ने खेलको कडा बिरोध गर्नुभएको छ ।