जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार १३:०५

खाडी मुलुकबाट आएका युवामा कोरोना संक्रमण भेटिएको पुष्टि


काठमाडौं, चैत १२

खाडी मुलुकबाट आएका युवामा कोरोनाको संक्रमण आएको खुलेको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बुधबार विहान आएको रिपोर्ट अनुसार तेस्रो संक्रमित भेटिएको हो । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।

प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अलग्ग राखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार ३०–३१ वर्षका ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन् । ‘हिजो राति १२ बजे परीक्षण गर्दा पोजेटिभ नतिजा आएको थियो, कन्फर्म हुनका लागि आज पुन परीक्षण गर्दा पनि पोजेटिभ नतिजा नै आयो’, गुप्ताले भन्नुभयो । उनको थप परिचय अहिलेसम्म खुलाइएको छैन ।

मन्त्रालयका अनुसार अहिलेसम्म ६८७ जनाको नमुना परिक्षण गरेकोमा तीन जनामा भेटिएको जनाएको छ । जसमध्ये एक जना केही समय अगाडी नै स्वस्थ्य भएर घर फर्किसकेका छन् । एक १९ वर्षिय युवतिको उपचार जारी छ ।