जनता टाइम्स

१४ चैत्र २०७६, शुक्रबार १५:५०

अब आधा भरेको ग्यास सिलिन्डर बजारमा


काठमाडौं, चैत १४

अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको हो । नेपाल आयल निगमले आज ७।१ किलो ग्यास भएको सिलिन्डरको नयाँ मूल्य तोकेको छ । निगमका अनुसार तराई क्षेत्रबाहेक काठमाडौँ उपत्यकालगायतका अन्य स्थानमा ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर ६८७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यस्तै तराई क्षेत्रका लागि प्रतिसिलिन्डर ६७७ रुपैयाँ ५० पैसा र दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका लागि प्रतिसिलिन्डर रु ६७० तोकिएको छ । यसअघि बजारमा १४।२ किलो ग्यास भएको सिलिन्डर बिक्री वितरण हुँदै आएको थियो । नाकाबन्दीको समयमा पनि ग्यासको चरम अभाव भएपछि केही समय आधा सिलिन्डर ग्यास प्रयोगमा ल्याइएको थियो ।

सरकारको निर्णयसँगै ग्यास उद्योगीले आधा सिलिन्डर ग्यास भरेर बजारमा पठाउन थालिसकेको एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो । “सबै जनताको घरमा चुल्हो बलोस् भनेर नै आधा सिलिन्डर ग्यास बजारमा पठाउन लागेका हौँ”, उहाँले भन्नुभयो, “बजारमा पठाइएका आधा सिलिन्डर ग्यास स्थानीय प्रशासनको रोहबरमा बिक्री वितरण हुन्छन् ।”