काठमाडौं, चैत १५ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउनसँगै अदालत बन्द भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग अफैले धरौटी लिएर भ्रष्टाचारका आरोपी छाडन थालेको छ । अख्तियारले विशेष अदालत बन्द भएका कारण अनुसन्धान सकिएर मुद्दा दर्ता गर्न बाँकी रहेका आठ जना थुनुवालाई शुक्रवार धरौटीमा छाडेको छ ।
कोरोनाको संक्रमणका कारण हिरासत खाली गर्नुपर्ने अवस्थासँगै अदालत बन्द भएकाले पछि मुद्दा दर्ता गर्ने गरी उनीहरूलाई छाडेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले कोरोनाको जोखिम र अदालत बन्द भएका कारण पछि मुद्दा दर्ता गर्ने गरी कानुनबमोजिम धरौटी लिएर छाडिएको बताउनु भयो । कोरोना संक्रमण फैलिन थालेपछि सर्वोच्च अदालतको फुलबेञ्च बैठकले दुई साता अदालत बन्द गर्ने निर्णय गरेको थियो । चैत १२ गतेदेखि बन्दी प्रत्यक्षीकरणलगायत केही मुद्दाबाहेक नहेर्ने गरी सबै तहका अदालत बन्द गर्ने फुलबेञ्चले निर्णय गरेको हो ।
सरकारले पनि एकैपटक २५ जनाभन्दा बढी जम्मा हुन नपाउने र देशभरि लकडाउन गरेको अवस्थामा आयोगले पनि अनुसन्धान सकिएर हिरासतमा रहेकालाई छाडेको हो । मुद्दा दर्तालगायतका मुख्य गतिविधिहरू रोकिएपछि र कोरोना महामारीको संक्रमणलाई दृष्टिगत गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ परेर थुनमा रहेका थप केहीलाई धरौटीमा रिहा गर्ने तयारी गरेको छ ।
आयोगका अनुसार अहिले अख्तियारको हिरासतमा ४१ जना छन् । त्यसमध्ये करिब २० जनाविरुद्ध अनुसन्धान सकेर मुद्दा दायर गर्ने आयोगको तयारी थियो । अदालत नियमित सञ्चालन भएपछि मुद्दा दायर गर्ने गरी उनीहरूलाई धरौटीमा रिहा गर्न लागिएको हो । जटिल र ठूला अनियमितताका आरोपित थुनुवा भने हिरासतमै रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्