काठमाडौं, चैत २२
नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भेटिएको छ । सुदुरपश्चिमका जिल्लामा यो संक्रमण देखिएको हो ।
कैलाली र कन्चनपुरमा शुक्रबार साँझ थप तीनजनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ । बाँकी दुईजना भने अन्य देशबाट आएका संक्रमित हुन् ।स्थानीय संक्रमित भने चौथो संक्रमितकी आफन्त हुन् । स्थानीय अस्पतालले दिएको जानकारी अनुसार उनि चौथो संक्रमित ३४ वर्षिया युवाकी भाउजु हुन् । उनको उमेरपनि ३४ वर्षकै रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै स्थानीयमा समेत कोरोना सर्न थालेको पुष्टि भएको मन्त्रालयले बताएको छ ।
‘दुबईबाट आएका एक व्यक्तिबाट उनकी भाउजुमा पनि कोरोना सरेको छ’, मन्त्रालय स्रोतले भन्यो, ‘यसको अर्थ पहिलो पटक नेपालमा कोरोना विदेशबाट आएका व्यक्तिबाट यहीँ बसिरहेकामा पनि सरेको छ ।’ मार्च १९ मा संयुक्त अरब इमिरेट्सको दुबईबाट एयर अरेबियाको जहाजमा कैलालीका ३४ वर्षीय युवक कोरोना संक्रमित भई धनगढी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । यसबाट विदेशबाट आएका व्यक्तिले कोरोना यहीँका परिवारजनमासमेत संक्रमण गराएको पुष्टि गरेको छ ।
यसैगरी अर्का संक्रमित भने कैलालीको लम्कीनिवासी युवामा देखिएको छ। २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट नेपाल आएका हुन् । क्वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
नवौँ संक्रमण कञ्चनपुरको पेरकोटका ४१ वर्षीय पुरुषमा देखिएको हो। उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए । नेपाल आएपछि क्वारेन्टाइनमा राखिएका उनमा पनि शुक्रबारै कोरोना पुष्टि भएको हो। तीनैजनामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार थालिएको छ । कोरोना संक्रमित तीनैजनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।
परीक्षण गर्न गएकाहरुमा पोजेटिभ रिपोर्ट देखिए पनि अझै कयौँले परीक्षण गराउनै मानेका छैनन् । विश्व स्वास्थ्य संगठनले पनि समुदायमा संक्रमण फैलिनुलाई सबैभन्दा जोखिम यसैलाई मानेको छ । अहिलेसम्म नेपाल सरकारले कोरोना विदेशबाट आएकाबाट समुदायमा नसरेको जनाउँदै आएको थियो । तर धनगढीको भेटिएको यो केस व्यक्तिबाट समुदायमा पुगेको पुष्टि भएको हो । इटालीमा पनि यसैगरी कोरोना व्यक्तिबाट समुदायमा फैलिएपछि महामारीको रुप लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्