जनता टाइम्स

२७ चैत्र २०७६, बिहीबार १०:४३

हेल्थ डेस्क राखेर संचालनमा आयो तातोपानी नाका


सिन्धुपाल्चोक, चैत २७

चीनसँगको महत्वपूर्ण नाका तातोपानी पुनः संचालनमा आएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको ‘हेल्थ डेस्क’ राखेर बुधबार साँझबाट नाका खोलिएको हो ।

चीनमा कोरोना महामारी फैलिएपछि माघ १३ बाट सो नाका बन्द गरिएको थियो । बुधबार साँझबाट नाका संचालनमा आएसँगै १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको भन्सारले जानकारी दिएको छ । प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकर्मीबीच छलफलपछि तीनबुँदे निर्णय गरी सुरक्षित रूपमा नाका खोलिएको हो । बिएम डेर्डीका व्यवसायीले खरिद गरेको मास्क र सेनिटाइजर चिनियाँ प्रहरीले आवश्यक परीक्षण सकेर नेपाली चेकपोस्ट ल्याइदिएको छ ।

७५ सय वटा मास्क र ५ सय सेनिटाइजर हेल्थ डेस्कमा जाँचेर भन्सार कार्यालयको यार्डमा लगिएको थियो । नाका र झिर्पुमा गरी १० बेडको आइसोलेसन र १० बेडको क्वारेन्टाइन कक्ष पनि तयार राखिएको छ । मितेरी पुलपारि चीनतर्फ पनि विशेष स्वास्थ्य टोली तयारी अवस्थामा छ । तिनले चालकको स्वास्थ्यदेखि सवारीसाधन र तिनमा ल्याइएका सामग्रीसम्मको सुरक्षा जाँच गर्छन् ।