जनता टाइम्स

२९ चैत्र २०७६, शनिबार १७:५६

लकडाउन तत्काल खुल्दैन, सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक छैन : प्रधानमन्त्री ओली


काठमाडौ., चैत २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकार भन्दा बाहिरको संयन्त्र आवश्यक नरहेको प्रष्ट पानृुभएको छ । सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग आज भएको चार घण्टा लामो भिडियो कन्फरेन्सको क्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा राख्नुभएको हो ।

भावनाको कुरा गरेर हुन्न, सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक छैन, प्रधानमन्त्री ओलीको भनाई थियो । सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस भन्ने जस्तो नगर्न पनि प्रधानमन्त्री ओलीले सबैलाई सुझाव दिनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री अओलीद्वारा आयोजित भिडियो कन्फरेन्स बिहान ११ : ३० देखि अपरान्ह ३ : ४० बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी अवधिसम्म संचालन भयो ।

उक्त अवसरमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तमाम प्रयाशहरूको स्थिति जानकारी गराउनुभयो । प्रधानमन्त्रीज्यूले यसबीचका प्रयाशहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताउनु भयो ।

उहाँले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट गर्नुभयो । सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई अनुरोध गर्नुभयो । उहाँले कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फडको मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताउनु भयो ।

लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गर्दै उहाँले जोड दिनुभयो, भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गराउनुभयो । प्रधानमन्त्री ओलीले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारिरीक रूपमा तन्दुरूस्त र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताउनुभयो ।

लकडाउनमा प्रशासनिक लापरबाही हुनैभएन भन्दै प्रधानमन्त्री ओलीले मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने, त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने समेत उहाँले उल्लेख गर्नुभयो । उहाँले जनतालाई दुस्ख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गर्नुभयो । साथसाथै, सरसफाईमा ध्यान दिन, माक्स र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह गर्नुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।