जनता टाइम्स

३० चैत्र २०७६, आईतवार १०:०९

प्रचण्डको प्रस्तावप्रति जनार्दन शर्माको कडा प्रतिवाद


काठमाडौं, चैत ३०

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य जनार्दन शर्माले कोरोना महामारीको सामना गर्न सरकारले मात्र सक्ने बताउनु भएको छ । उहाले कोरोनाका विषयमा उच्चस्तरिय संयन्त्र बनाउने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावलाई काउन्टर दिदै सो कुरा उल्लेख गर्नुभएको हो ।

प्रचण्डले संयन्त्र बनाउने विषय एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक गरेपछि अहिले सर्वत्र आलोचना भईरहेको छ । नेता शर्माले यस्तो बेला नाफाको राजनीति नभई जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बेला आएको समेत बताउनु भएको छ । उहाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ, ‘नाफामा होइन जनताप्रति उत्तरदायी भएर जनताको जीवनलाई महत्त्व देख्ने नीति भएको सरकारले मात्र यो महामारी(कोरोना) सामना गर्न सक्छ र सकिरहेको पनि छ भन्ने कुरा पुष्टि भएको छ । जनता नै हाम्रो शक्तिका श्रोत हुन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संयन्त्रका विषयमा कुरा त के सोच्न समेत नसकिने स्पष्ट पारिसक्नु भएको छ । सातै प्रदेशका मुख्यमन्त्रीहरुले पनि संयन्त्र आवश्यक नभएकाले कोरोनाविरुद्धको रणनीति बनाउनमै केन्द्रीत हुन सरकारलाई सुझाव दिईसकेका छन् । अन्य नेताहरुले पनि चार तिर सोच्नु भन्दा कोरोनामै ध्यान केन्द्रीत गर्न सरकारलाई बताउदै आएका छन् ।