डडेल्धुरा, चैत ३०
डेन्जर जोन हुन सक्ने आंशका गरिएको सुदूरपश्चिम प्रदेशमा गरिएको र्यापिड टेस्टको सम्पूर्ण नतिजा नेगेटिभ आएको छ । शनिवार एक हजार ८ सय ९५ जनाको कोरोना संक्रमण परीक्षण गरिएको थियो ।
कैलालीमा ७ सय ३०, बझाङमा ४ सय २६, कञ्चनपुरमा ४ सय ७, डोटीमा २ सय ४०, बाजुरामा ५३, बैतडीमा ३७, डडेल्धुरा र अछाममा एक–एक जनाको र्यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिनुभयो ।
दार्चुलामा गरिएको टेस्टको रिपोर्ट भने आज आउनेछ । र्यापिड टेष्टमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा परीक्षण गर्ने गरेको छ । यो परीक्षण प्रविधि पीसीआरभन्दा कम विश्वसनीय हुन्छ ।
र्यापिड टेष्टमा पोजेटिभ देखाए पनि पुष्टिका लागि पीसीआर परीक्षण गर्नैपर्ने हुन्छ । पहिलो चरणमा ५ हजार किट आएकोमा त्यसले अपुग हुने देखिएपछि शुक्रबार थप ५ हजार किट आएको छ । आवश्यकता अनुसार सरकारले अझै थप किट पठाउने जानकारी दिएको छ । हालसम्म सुदूरपश्चिममा चार जनामा कोरोना भाइरस भएको पुष्टि भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्