काठमाडौं, बैशाख १
नेपालमा पहिलो पटक सबैभन्दा उचाईमा पाटे बाघ भेटिएको छ । सुदूरपश्चिमको डडेल्धुरामा २ हजार ५ सय मिटर उचाइमा पाटे बाघ भेटिएको हो ।
महाभारत वन क्षेत्रमा पहिलो पटक त्यति उचाइमा बाटेबाघको तस्बिर स्वचालित क्यामेरामा कैद भएको डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । भुटानमा ४२ सय र भारतको उत्तराखण्डस्थित धार्चुलामा २९ सय मिटर उचाइमा भेटिएका बाघ नेपालमा पनि ८ सय मिटर उचाइसम्म पाइएका थियो । क्यामेरामा कैद भएको बाघ रैथाने वा अन्यत्रबाट आहारको खोजीमा आएको हो भन्नेबारे विस्तृत अध्ययन हुन बाँकी छ ।
यसअघि पनि सो क्षेत्रका बासिन्दाले त्यहा बाघ देखिने गरेको बताउदै आएका छन् । तराई भू–परिधि कार्यक्रम, विश्व वन्यजन्तु कोषको आर्थिक तथा प्राविधिक सहयोगमा डिभिजन वन कार्यालयले संयुक्त रुपमा मार्च ६ देखि अप्रिल ६ सम्म महाभारत वन क्षेत्रमा बाघ भएनभएको अध्ययन गर्न ३२ जोडी स्वचालित क्यामेरा जडान गरेको थियो । त्यसमा सो बाघको तस्विर कैद भएको हो ।
क्यामेरामा पाटेबाघसँगै रेड फक्स, चितुवा, घोरल, लार्च इन्डियन सिभेट, लियोपार्ड क्याट, दुम्सी, मृग प्रजाति र चरासमेत कैद भएका छन् । विश्वका १३ देशमा बाघ पाइन्छन् । सन् २०२२ सम्म पाटेबाघको संख्या विश्वमै दोब्बर पार्ने सन् २०१० को घोषणाअनुसार अहिले सबै देश बाघको बढोत्तरीमा केन्द्रित छन् ।
प्रतिक्रिया दिनुहोस्