जनता टाइम्स

३ बैशाख २०७७, बुधबार १३:१४

अर्थमन्त्री खतिवडा नै फेक समाचारको शिकार : बदनाम गर्न रचियो सनसिटी गएको भन्दै यस्तो षडयन्त्र


काठमाडौं, बैशाख ३ । अर्थ र सञ्चारएवं सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा नै फेक समाचारको शिकार हुनुभएको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बेलायतबाट आएका दुई जनामा कोरोना पोजेटिभ देखापरेपछि नेपालका प्रतिष्ठित मिडियाले नै कर छली गर्ने गिरोहको योजनामा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खतिवडाबिरुद्ध नियोजित रुपमा फेक समाचार प्रकाशित गरेको पाइएको हो ।

सो अपार्टमेन्टमा मन्त्री खतिवडाको छोरा बुहार बसोवास गर्दै आएको आधारमा मन्त्री खतिवडा गएको भन्दै यस्तो अफवाह फैलाउने काम भएको हो । अनुशासनमा अति कडा मन्त्री खतिवडालाई बदनाम गर्न केही बिषय फेला नपरेपछि छोरा बुहारी रहेकै आधारमा सोअपार्टमेन्टमा गएको भन्दै प्रश्न उठाइएको थियो । तर उहाँको सचिवालयले यथार्थ बाहिर ल्याएर फेक समाचारको पोल खोलिदिएको छ ।

मन्त्री खतिवडाका प्रेससंयोजक यमन पौडेलले चैत ८ गते अर्थमन्त्री सो अपार्टमेन्टमा गएको भन्ने समाचार शतप्रतिशत झुटो रहेको बताउनु भयो । मुटु र डाइबिटिज (मधुमेह) को बिरामी भएकाले स्वास्थ्यप्रति सजग रहेको र उहाँ सिंहदरवार र बालुवाटारबाहेक निवासबाट कतै नजाने गरेको पौडेलले बताउनु भयो । कोराना संक्रमितहरु फेला परेको सन सिटी अपार्टमेन्टमा अर्थमन्त्री खतिवडाका छोरा, बुहारी र नातिनी बस्दै आउनु भएको छ ।

यस्तो छ पौडलले खोलेको तथ्य

माननीय मन्त्रीज्यू सन सिटीमा जानुभएको छैन । लकडाउनयता कहीँ पनि जानुभएको छैन । त्योभन्दा पहिले पनि जानुभएको छैन । उहाँ मुटुको र डाइबिटिजको बिरामी हुनुहुन्छ । डब्लूएचओले भनेअनुसारको डिस्ट्यान्स मेन्टेन गर्नेदेखि लिएर खानेकुरा र स्वास्थ्य सुरक्षामा एकदमै सजग हुनुहुन्छ । मन्त्री निवासदेखि अर्थ मन्त्रालय र अफिसदेखि प्रधानमन्त्री निवास र रक्षामन्त्रीको उच्चस्तरीय समन्वय समितिमा बाहेक उहाँले कहीँ पनि कसैसँग भेट गर्नुभएको छैन ।

मन्त्रीज्यू मुटुको विरामी भएकाले अघिपछि पनि खानपान भीडभाडमा नहिँड्ने मान्छे हो । उहाँ शुद्ध शाकाहारी हो । अघिपछि पनि फाइभ स्टार होटलमा सन्ध्याकालीन कार्यक्रम हुँदाखेरि प्रमुख अतिथिका रुपमा जाँदाखेरि भाषण गरेर एक कप चिया पनि नखाइन सिधै हिँड्ने मान्छे हो । लकडाउनपछि हाम्रै अफिस (अर्थ मन्त्रालय) मा पनि केही स्टाफहरु कटौती भएर हामी निश्चित मान्छेहरु मात्रै छौं । हामीलाई पनि जो जहाँ छ, त्यहीँ मात्र आउने, अन्यत्र कसैलाई नभेट्ने भन्ने सजग गराइएको छ । लकडाउनपछि मन्त्रीज्यू धुम्बाराहीस्थित घरमा समेत जानुभएको छैन ।