जनता टाइम्स

३ बैशाख २०७७, बुधबार २१:३७

भक्तपुरमा २६६ जनाको रिपोर्ट नेगेटिभ


भक्तपुर, बैशाख ३

भक्तपुरमा भएको कोरोना सङ्क्रमणको नमूना परीक्षणमा २६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुरको अस्पतालमा भएको नमूना सङ्कलनमा विदेशबाट आएका २६६ सहित २७० जनाको नमूना सङ्कलन गरिएकामा चारजनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो । एक जनाको आइसोलेशनमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी स्वास्थ्य कार्यालय भक्तपुरले गरेको अनुगमनमा लोकन्थलीमा सञ्चालित समिट अस्पतालबाहेक अरू सबै अस्पतालको अवस्था सन्तोषजनक रहेको पाइएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो । भक्तपुरमा खाद्य भण्डारण गरिने निर्णय गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा आज बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले नेपाली सेनाको वीरदल गणको नेतृत्वमा सुरक्षा निकायले खाद्य भण्डारण गर्ने र त्यसलाई सम्बन्धित नगरपालिकाले आवश्यक सहयोग गरिने भएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।

स्वास्थ्य उपचारका लागि आवश्यक उपकरण एवम् औषधिको व्यवस्थापन तथा तयारी स्थानीय तहहरुले अझ सशक्त रुपमा गर्ने, अति विपन्न नागरिकका लागि राहत वितरणको कार्य सम्बन्धित वडाहरुबाट एकद्वार प्रणालीबाट मात्र व्यवस्थापन गर्ने निर्णय गरेको छ । लकडाउनको उल्लङ्घन गर्दै अनावश्यक रुपमा जम्मा भएको भीड नियन्त्रण र बजार व्यवस्थापन गर्ने सुरक्षा निकायले स्थानीय तहसँग समन्वय गरी अझ कडाइ गर्ने निर्णय गरेको छ ।

त्यस्तै मध्यपुर थिमि नगरपालिकाबाट सञ्चालित नेपाल कोरिया मैत्री अस्पतालमा तयार गरिएको पिसिआर मेशिनबाट कोभिड–१९ परीक्षण गर्ने स्वीकृतिका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुरोध गर्ने र भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनस्थलमा विभिन्न देशबाट नेपाल आएका १६ जनाको व्यवस्थापन र खानपानमा भएको एकमुष्ट खर्चको बिल भुक्तानीका लागि सम्बन्धित निकायसँग माग गर्ने भएको छ ।