जनता टाइम्स

४ बैशाख २०७७, बिहीबार १२:४१

जमुनाहा दशगजामा रहेका नेपाली स्वदेश फर्किदै, सबैको रिपोर्ट नेगेटिभ


नेपालगञ्ज, बैशाख ४

बाँकेको जमुनाहास्थित दशगजामा रहेकालाई स्वदेश फर्काइने भएको छ । टेन्ट टाँगेर राखिएका एक सय ८१ जनाको ‘आरडीटी’ टेष्ट रिपोर्ट नेगेटिभ आएपछि स्वदेश फर्काउने तयारी गरिएको हो ।

लकडाउन शुरु भईसकेपछि भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई स्थानीय प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले दशगजामै विगत १६ दिनदेखी टेन्ट टाँगेर राखेको थियो । त्यहाँ २६ जिल्लाका मानिस रहेका छन् ।

आरडीटी रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई घर पठाउने तयारी थालिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सबैलाई पत्रसहित सम्बन्धित जिल्लामा पु¥याउने बताउनु भयो । भारतीय सुरक्षा बल (एसएसबी)ले दशगजामा ल्याएर छोडिदिएपछि अलपत्र परेका थिए । नेपाली सेनाले दशगजामै ४५ वटा टेन्ट बनाएर राखेको थियो ।

विहिवार आरडीटी टेष्टमा नेगेटिभ रिपोर्ट आएपछि खुशी भएका उनीहरु घर जान पाउने भएपछि थप उत्साहित भएका छन् । बाँकेका विभिन्न क्वारेन्टाइनमा १४ दिन बसेका व्यक्तिलाई आरडीटी जाँच गर्दै नेगेटिभ देखिएमा घर पठाउने गरिएको छ । अहिलेसम्म विभिन्न ठाउँबाट क्वारेन्टाइनमा बसेका करिव दुई सय जना घर गइसकेका छन् ।