जनता टाइम्स

४ बैशाख २०७७, बिहीबार १८:२५

मनोवलले कोरोनालाई जित्छु भन्ने बाग्लुङकी महिलाको तेस्रो रिपोर्ट नेगेटिभ


बाग्लुङ, बैशाख ४

मनोवलले कोरोनालाई जित्छु भन्ने बाग्लुङकी ६५ वर्षिया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार गरिएको परीक्षणको नतीजा नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अर्की संक्रमित १९ वर्षीया युवतीको भने चौथो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको छ ।

गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै आएकी बाग्लुङकी ती महिलाको तेस्रो परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको हो । अस्पतालमा उपचार भइरहेका कोरोना संक्रमितमध्ये पुनः परीक्षण गरिएकाहरूको नेगेटिभ आएको यो पहिलो घटना हो । यसअघि गरिएको दोस्रो परीक्षणमा यी महिलाको नतिजा पोजेटिभ आएको थियो ।

महिलाको अर्को परीक्षणको लागि स्वाब आज पठाइएको छ । संक्रमितको नतिजा नेगेटिभ आए फेरि २४ घण्टा भित्र अर्को नतिजा नेगेटिभ आएपछि विरामीलाई डिस्चार्ज गर्ने गरिन्छ । अर्को नतिजा पनि नेगेटिभ आए महिलालाई डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।

उनीहरुमध्ये युवती चैत १५ र महिला १९ गतेदेखि आइसोलेसनमा छन् । उनीहरुको अवस्था भने सामान्य रहेको र कुनै पनि औषधि दिनु नपरेको अस्पतालले जनाएको छ । दम र उच्च रक्तचापकी बिरामी भएकाले महिलाले त्यसको औषधि भने खाईरहनु भएको छ ।