काठमाडौं, बैशाख ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आफ्नो लागि सुविधा सम्पन्न इलेक्ट्रिक गाडी खरिदका लागि विनियोजित रकम सरकारको सञ्चित कोषमा नै फिर्ता गर्नुभएको छ । कोभिड–१९ को महामारीका कारण उत्पन्न विशेष परिस्थितिमा आफ्ना लागि गाडी खरिद गर्नु उपयुक्त नहुने निश्कर्षसहित राष्ट्रपति भण्डारीले रकम फिर्ता गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका सचिव हरि पौडेलले नयाँ गाडी, ल्यापटप, कम्प्युटर तथा मेसिनरी औजार खरिद तथा मिटिङ हल निर्माण र भवनको मर्मतसम्भार कार्य स्थगित गरी बजेट फिर्ता गरिएको जानकारी दिनुभयो । राष्ट्रपति कार्यालयले सरकारले गरेको बजेटअनुसार राष्ट्रपति भण्डारीका लागि ६५ लाख रुपैयाँ (भन्सार राजस्वबाहेक) मा लामो भीभीआईपी इलेक्ट्रिक गाडी खरिद गर्ने अन्तिम तयारी गरेको थियो । राष्ट्रपति भण्डारीले चढ्दै आएका सुविधासम्पन्न गाडी पुराना भइसकेका छन् । अरू गाडी पुराना भएकाले भण्डारीले दुई वर्षअघि खरिद गरिएको बीवाईडी इलेक्ट्रिक कार चढ्दै आउनुभएको छ ।
उक्त कार एकपटक चार्ज गरेपछि १ सय ५० किलोमिटर गुड्छ । राष्ट्रिपति कार्यालयले एकपटक चार्ज गरेपछि ४ सय ५० किमि गुड्ने त्योभन्दा आधुनिक र सुविधासम्पन्न कार किन्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको थियो । भण्डारीका लागि नयाँ कार आएपछि पुरानो इलेक्ट्रिक गाडी राष्ट्रपति कार्यालयका अरू एक पदाधिकारीलाई दिने निर्णय भइसकेको थियो । राष्ट्रिपति कार्यालयका सचिव र सहसचिवलगायतका लागि अरू ५ वटा इलेक्ट्रिक कार खरिद गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको थियो ।
तर मुलुकमा कोभिड–१९ को संक्रमण देखिन थालेको र लकडाउनका कारण सिंगो मुलुक आर्थिक संकटमा परेको हुनाले राष्ट्रपति कार्यालय नयाँ गाडी खरिदको प्रक्रिया स्थगन गरी रकम फिर्ता गरिएको हो । यस्तै राष्ट्रपति कार्यालयमा एउटा विशेष मिटिङ हल निर्माण गर्न लागिएको थियो । कार्यालयमा विदेशी मुलुकका राजदूतले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि छुट्टै भेट्ने मिटिङ हलसमेत छैन । करिब साढे चार करोड रुपैयाँमा मिटिङ हल बनाउने र राष्ट्रपति कार्यालय भवनको मर्मतसम्भार गर्ने तयारी भइरहेको थियो ।
कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारलाई ठूलो रकम आवश्यक परिरहेका बेला राष्ट्रपति कार्यालयले अत्यावश्यक बाहेक अरू बजेट फिर्ता गर्दा राम्रो हुने राष्ट्रपति भण्डारीको निर्णयअनुसार सबै खरिद प्रक्रिया स्थगित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्