जनता टाइम्स

१० बैशाख २०७७, बुधबार १२:५०

अध्यादेश र बजेटबारे नेकपा सांसदसँग अध्यक्षद्वयको बालुवाटारमा छलफल


काठमाडौं, बैशाख १०

प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सांसदसँग छलफल शुरु गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा अध्यक्षद्वय नै उपस्थित हुनु भएको परराष्ट्रमन्त्री एंव नेकपा स्थायी कमिटि सदस्य प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

अध्यक्षद्वय ओली र दाहालले विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यहरुसँग सरकारले ल्याएका अध्यादेश, आगामी बजेट, कोरानाका विषयमा नेकपाका सांसदहरुलाई संयुक्त ब्रिफिङ गरिरहनु भएको छ ।

‘जारी अध्यादेश, पार्टी स्थापना दिवस, पार्टीका आगामी कार्यभार एवं कोरोना विरुद्ध अभियानका सन्दर्भमा सांसदहरूसँग समूहगत छलफल गर्ने सिलसिलामा अध्यक्षद्वयले अहिले छलफल गरिरहनु भएको छ’, ज्ञवालीले भन्नुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार सातै प्रदेशका संघीय सांसदसँग छलफल आयोजना गरिएको बताउनु भयो । ‘प्रधानमन्त्री एवं पार्टी अघ्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुषकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरूसँग प्रदेशस्तरीय समुहमा छलफल गरिरहनु भएको छ’, उहाले छलफल बारे जानकारी दिदै भन्नुभयो, ‘सुदूर पश्चिम प्रदेशबाट शुरू भएको छलफल प्रदेश नं १ र वागमती प्रदेश हुँदै क्रमश सातवटै प्रदेशका सांसदहरूसँग आज र भोलिसम्म गरिनेछ ।’

थापाका अनुसार जारी अध्यादेश र कोरोना भाइरसविरूद्दको लकडाउन लगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न यसरी छलफल गरिएको बताउनु भयो ।