जनता टाइम्स

११ बैशाख २०७७, बिहीबार १२:२३

कोरोनाग्रस्त भुल्केको दु:ख : मास्क बनाएर गाँउमा बाड्ने नै कोरोना संक्रमित


काठमाडौं, बैशाख ११

कोरोना संक्रमणको इपिसेन्टर जस्तै बनेको उदयपुर भुल्केमा यतिखेर तनाव छ । सिंगो गाँउ नै कोरोनाको चपेटा आउला कि भन्ने पिर स्थानीयलाई छ । पछिल्लो सात दिनमा मात्रै त्यहाबाट २७ जना संक्रमित फेला परिसकेका छन् ।

एकै परिवारका पाँच सहित सो ठुलो सख्यामा संक्रमित फेला परेका हुन् । ४१ वर्षिय दाजु, उनका १८ वर्षिय छोरा, ३६ वर्षीया बहिनी, ४० वर्षिय ज्वाई र १८ वर्षीय भान्जामा कोरोना संक्रमण देखिएको छ । यी मध्ये १८ वर्षिय पुरुष उत्तर प्रदेश पढ्न गएको र चैत ७ गते उत्तरप्रदेश हुदै घर फर्किएको खुलेको छ ।

संक्रमण पुष्टि हुनुअघि संक्रमितहरुले टोलमै बसेर तास खेल्ने, उनीहरुले फलाएको तरकारी उक्त क्षेत्रका बासिन्दाले खरिद तथा उपभोग गर्ने तथा संक्रमित भेटिएका एकजनाले चलाउने अटो स्थानीयले प्रयोग गर्दै आएका कारण स्थानीयहरु त्रसित देखिएका छन् । यस्तै कोरोना संक्रमणबाट बच्न भन्दै केही दिनअघि स्थानीय वन उपभोक्ता समितिले मास्क बनाउँदै टोलभरि बाँडिएको थियो । उक्त मास्क प्रत्येक घरमा दुई वटाका दरले बाँडिएको थियो । हाल उक्त मास्क बनाउने मान्छेलाई नै संक्रमण देखिएपछि झनै तनाव थपिएको स्थानीयले बताएका छन् ।

उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार त्यहाँबाट अहिलेसम्म ३२० जनाको नमुना संकलन गरिएकोमा कतिपयको नतिजा अझै आउन बाँकी छ । जसले गर्दा संक्रमितको सख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । वैशाख ५ गते पुष्टि भएका संक्रमितमा समेत भाइरस कहाँबाट सर्यो र तीमध्ये कसले कसलाई सारेका हुन् भन्ने स्पष्ट भइसकेको छैन ।

उदयपुरमा सुरुमा त्यहाँको एक मस्जिदमा संक्रमित भएका पुष्टि भएकाहरू चार महिनादेखि नेपालमा रहेको भन्ने विवरण समेत आएका छन् । यसबीचमा उनीहरू नेपालमा थुप्रै ठाउँमा बसेका हुनाले त्यस अवधिमा भेटेका मानिसहरूको विस्तृत पहिचान गरेर अन्यत्र कतै स्थानीय प्रकोपहरू भएका हुनसक्नेबारे खोज्न आवश्यक रहेको जनस्वास्थ्यविज्ञहरुको जोड रहेको छ ।