जनता टाइम्स

१७ बैशाख २०७७, बुधबार ०७:१२

बहराइनमा ७७ जना नेपालीमा कोरोना सङ्क्रमण ( कुनदेशमा कति संक्रमित सूचिसहित)


काठमाडौं, बैशाख १७ ।  बहराइनमा थप ७७ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ । मंगलबारसम्ममा जम्मा १२६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिनुभयो ।

यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको पनि उहाँले बताउनुभयो ।

कुनै क्याम्पमा कोरोना सङ्क्रमण देखिएमा त्यो क्याम्पलाई नै क्वारेण्टीन बनाउने गरेको र त्यहाँसम्म दूतावासलाई पनि बहराइनले पहुँच दिएको छैन ।

दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् । खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका अनुसार यी देशमा २०६ जना नेपाली नागरिकमा काेराेना सङ्क्रमण देखिएकाे छ ।  जसमध्ये १९७ जनाको अस्पतालमा उपचार भइरहेको छ । ७ जना निकाे भएर काममा फिरेका छन् भने यूएईमा काेराेनाका कारण दुई जनाकाे ज्यान गएकाे छ ।

अहिलेसम्म बहराइनमा १२६, कुवेतमा जम्मा ५१ , यूएईमा १२, साउदीमा ४, कुवेतमा २९, कतारमा १५, मलेसियामा ३ जना गरी जम्मा १८९ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको हो । जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा दुई गरी ७ जना निको भएर काममा फर्किएका छन् ।