वीरगन्ज, बैशाख २१ । कोरोना भाइरसको उपचारपछि निको भएर घर पठाइएका रौतहटका एक युवकलाई ७ दिनपछि फेरि नारायणी अस्पताल भर्ना गरिएको छ । गत बैशाख १४ गते उपचारपछि घर गएका ती युवकलाई गएराती पुनः अस्पताल ल्याएर भनाई गरिएको हो ।
कोभिड–१९ संक्रमण पुष्टि भएपछि रौतहटको इशानाथ नगरपालिका ८ का १९ वर्षीय बच्चा अन्सारीलाई वैशाख २ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालको आइसोलेनसमा १२ दिनसम्म राखिएका अन्सारीको पीसीआर परीक्षणको तेश्रो, चौथो र पाचौँ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले वैशाख १४ गते डिस्जार्च गरी घर पठाएको थियो । तर घर पठाएको एक हप्ता नबित्दै उनलाई शनिबार राति फेरि रौतहटस्थित घरबाट अस्पतालमा ल्याइ आइशोलेशन वार्डमा राखिएको छ ।
अन्सारीले आफुलाई शनिबार राति नारायणी अस्पतालले पठाएको एम्बुलेन्समा राखेर घरबाट ल्याएको जानकारी दिनुभयो । अन्सारीका अनुसार घर गएको तीन दिन पछि गत बुधबार नारायणी अस्पतालबाट घरमा पुगेका ३ स्वास्थ्यकर्मीले खकार, सिगान र रगतको नमुना संकलन गरी फर्किएका थिए । शनिबार बेलुकी अचानक घरबाट एम्बुलेन्समा राखेर उनलाई अस्पताल ल्याइएको हो ।
शनिबार राति अस्पतालमा ल्याइसकेपछि पनि स्वास्थ्यकर्मीले आफनो खकारको नमूना परीक्षणका लागि लिएर गएको अन्सारीले जानकारी दिनुभयो । आफूलाई स्वास्थ्य समस्या नभए पनि पुनः अस्पताल ल्याएपछि तनाव बढेको उहाँको गुनासो छ । अस्पताल श्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा फेरि क्रस चेक गर्दा अन्सारीको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालका स्वास्थ्यकर्मीले गत बुधबार उहाँको घरमै पुगेर स्वाब संकलन गरी काठमाडौं पठाएका थिए ।
बुधबार पठाइएको स्वाबको रिपोर्ट पनि पोजेटिभ आएपछि अन्सारीलाई शनिबार राति नै अस्पतालमा ल्याइएको हो । नारायणी अस्पतालका चिकित्सकले फलो अप चेकजाचका लागि अन्सारीलाई ल्याइएको जानकारी दिएका छन ।
प्रतिक्रिया दिनुहोस्