जनता टाइम्स

२१ बैशाख २०७७, आईतवार १६:५२

एकैदिन १० जनामा देखियो कोरोना संक्रमण : संक्रमितको संख्या ६९ पुग्यो, नेपालगञ्ज उच्च जोखिममा


काठमाडौं, बैशाख २१ । नेपालमा एकै दिन थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको परीक्षणमा १० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज नेपालगञ्ज ९ जना र वीरगन्जमा एक गरेर १० जनामा कोरोना पोजिटिभ देखिएको हो । उहाँका अनुसार वीरगञ्ज नगरपालिकाका महानगरपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ भने अन्य ९ जना नेपालगञ्ज निवासी हुन । नेपालगञ्जमा कोरोना पुष्टि हुनेमा पाँच पुरुष र चार महिला रहेको देवकोटाले जानकारी दिनुभयो ।

योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ । संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन । घर फर्किएमामध्ये एक जनालाई पुन अस्पताल ल्याइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १३ हजार चार सय १४ र आरडीटी विधिबाट ५९ हजार ६ सय ८९ नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८ सय ७९ जनाको नमुना परीक्षण भएको छ ।

स्वास्थ्य प्रवक्ता देवकोटाका अनुसार अहिले २१ हजार ९ सय बढी क्वारेन्टाइनमा छन्। आइसोलेसनमा उपत्यकामा ४ र बाहिर ७३ गरेर ७७ जनाको उपचार भइरहेको छ ।