जनता टाइम्स

२२ बैशाख २०७७, सोमबार ०९:५९

ब्यक्तिबाट समुदायमा फैलियो कोरोना, झनै बढ्यो खतरा


नेपालगञ्ज, बैशाख २२ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–८ स्थित महेन्द्र पार्क (अन्सारी टोल) मा एकै ब्यक्तिबाछ १५ जनामा कोरोना रोगको संक्रमण भएको पाइएको छ । आइतबार एकै दिन १५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । नेपालगन्ज–५, डीएसपी रोडका ६० वर्षीय व्यक्तिमा शुक्रबार संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेका ९० जनाको स्वाब शनिबार संकलन गरी भेरी अस्पतालस्थित प्रयोगशालामा पीसीआर परीक्षण गर्दा थप व्यक्तिमा संक्रमण भेटिएको हो ।

संकलन गरिएकामध्ये आइतबार साँझसम्म ५५ जनाको स्वाब परीक्षण भएको छ, अन्यको परीक्षण जारी छ । यससँगै नेपालगन्जको मध्य बस्तीमा संक्रमितको संख्या १६ पुगेको छ । एक महिनाअघि भारतबाट फर्किएका पहिलो संक्रमित महेन्द्र पार्कस्थित मस्जिदमा नमाज पढ्न र बालबालिकालाई उर्दू भाषा पढाउन तीन जना स्थानीय बासिन्दाको घरैमा जाने गरेका थिए । उनको घरबाट महेन्द्र पार्क पुग्न मिनार मस्जिद रोड, एमपी स्कुल, रानीतलाउ मोड, जोलहनपूर्वा हुँदै जानुपर्छ । नमाज पढ्न उनी दिनमै तीन चारपटक जान्थे । पुरानो र बाक्लो बस्ती भएकाले एउटै टोलमा धेरै जना संक्रमित भएको स्वास्थ्यकर्मीले जनाएका छन् । संक्रमण भेटिएका कुनै व्यक्तिमा पनि कोरोनासम्बन्धी लक्षण देखिएको थिएन । लकडाउनको समयमा पनि उक्त बस्तीका बासिन्दा एकअर्काको घरमा आउजाउ गर्दै आएका थिए ।

चिकित्सकले यहाँ कोरोना भाइरस समुदायस्तरमा फैलिएको जनाएका छन् । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सलटेन्ट फिजिसियन तथा मेडिकल विभाग प्रमुख राजन पाण्डेले ‘कम्युनिटी ट्रान्समिसन’ भइसकेकाले तीव्र सतर्कता र कडाइ जरुरी रहेको बताउनुभयो । ‘नेपालगन्जमा कम्युनिटी ट्रान्समिसन भइसक्यो,’ पाण्डेल भन्नुभयो, ‘अब झन् खतरा भयो ।’ यहाँ भाइरस कुन चरणमा फैलिरहेको हो भन्ने विश्लेषण र पुष्टि गर्ने काम संघीय मन्त्रालयको भएको उहाँको भनाई छ । संक्रमण पुष्टि भएका एकै घरका तीन जनासम्म छन् । शुक्रबार संक्रमण पुष्टि भएका व्यक्तिका परिवारका सदस्यको कोरोना जाँच हुन अझै बाँकी छ । उनीहरूलाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ ।

नेपालगन्जका पहिलो संक्रमित एक महिनाअघि भारतको नानपाराबाट आएर क्वारेन्टाइनमा नबसी जबर्जस्ती घर गएका थिए । बिहीबार उनको स्वाब संकलन गरी जाँच गरेपछि शुक्रबार पोजिटिभ रिपोर्ट आएको हो । त्यसलगत्तै उनको परिवारका ६ जनासहित उनीहरूको सम्पर्कमा देखिएका ९० जनाको स्वाब संकलन गरिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले आइतबारको घटनाले महामारीको संकेत गरेको बताउनुभयो ।

‘यो घटना एक व्यक्तिबाट अर्कोमा सरेको देखिन्छ, संक्रमण पुष्टि भएका व्यक्तिले अन्य थुप्रैसँग सम्पर्क गरेका हुन सक्छन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले अवस्था निकै जटिल बनेको छ ।’ संक्रमित वृद्धबाट अन्य व्यक्तिमा संक्रमण सरेपछि नेपालगन्जका बासिन्दा त्रसित बनेका छन् । यहाँका अधिकांश बस्ती झुरुप्प छन् । आइतबारका संक्रमितमध्ये एक जना सात वर्षीय बालकसमेत छन् । संक्रमित नेपालगन्जका विभिन्न स्थानमा धेरै जनासँग घुलमिल भएका व्यक्ति हुन् । लकडाउनका बेला नेपालगन्जबाट छिमेकी जिल्ला बर्दिया, दाङ र कर्णाली प्रदेशका सर्वसाधारण घर फर्किएका छन् । त्यसले छिमेकी जिल्ला पनि जोखिममा देखिएका छन् ।