जनता टाइम्स

२२ बैशाख २०७७, सोमबार १४:१२

काठमाडौंमा यसरी टार्न सकिन्छ कोरोनाको जोखिम


काठमाडौं, बैशाख २२ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढी रहेको भन्दै आवत–जावतमा कडाई गर्नुपर्ने बताउनुभएको छ । ‘नेपालगञ्ज, विरगञ्जलगायतका स्थानमा कोरोना संक्रमितका विरामी बढिरहेका छन्,’ प्रमुख शाक्यले भन्नुभयो, ‘यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ ।’

प्रमुख शाक्यले यस्तो बेलामा अझ उपत्यकाबाट हुने आवत–जावतमा कडाई नगर्ने हो भने त्यसले थप समस्या हुन सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो । ‘काठमाडौंबाट मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने होडबाजी गर्दा त्यसले थप समस्या सिर्जना गर्न सक्छ,’ उहाँले भन्नुभयो, ‘यो विपद्को बेला हो । यस्तो बेलामा सबै राजनीतिक दलले दल भन्दा माथि उठेर सामूहिक धारणासहित समाधानको बाटो खोज्नुपर्छ । विभिन्न संघ–संस्था र नागरिकले पनि आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुको अर्को विकल्प छैन ।’

उहाँले जिल्लाबाट काठमाडौं फर्कनेको संख्या बढ्दै जाने हो भने सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव नहुने र त्यसले झन जटिलता सिर्जना गर्नेतर्फ पनि सचेत रहन सबैलाई आग्रह गर्नुभयो । ‘राजधानीमा रहेका क्वारेण्टाइनलाई व्यवस्थित गर्ने, बिदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको आशंका भएका व्यक्तिहरुलाई परिक्षणको दायरामा ल्याउनेलगायतका कार्यमा पनि सामूहिक प्रयास आवश्यक छ,’ शाक्यले भन्नुभयो, ‘स्थानीय तहले गर्ने स्थानीय र प्रदेश वा केन्द्र सरकारले गर्ने काम केन्द्रले गरौँ । तर, यसमा एक–अर्काबिच आवश्यक समन्वय होस् ।’

प्रमुख शाक्यले संघीय राजधानी समेत भएका कारण काठमाडौँका सन्दर्भमा सरकार र राजनीतिक दलको समेत सामूहिक प्रयास आवश्यक भएको उल्लेख गर्नुभयो । ‘यो संघीय राजधानी हो । यहाँ ७७ बटै जिल्लाका नागरिक बसोबास गर्दै आएका छन्,’ उहाँले भन्नुभयो, ‘आवत–जावतलाई कडाई नगर्ने हो भने यहाँ कोरोना संक्रमण सजिलै फैलिन सक्ने खतरा बढी हुन्छ र त्यसो भयो भने नियन्त्रणका लागि मुस्किल हुनसक्छ । त्यसैले यसको समाधानका लागि नाकामा कडाई गर्ने, उपत्यकाबासीको जीवनयापनलाई सहज बनाउनेलगायतका लागि सबै राजनीतिक दल र जनप्रतिनिधिको सामूहिक प्रतिवद्धता आवश्यक छ ।’

जिम्मेवार नेताहरुले नै लकडाउनका बेला काठमाडौंबाट मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने गरेकोप्रति संकेत गर्दै त्यसले झन चिन्ता थपेको बताउनुभयो । ‘यस्तो विपद्का बेलामा राजनीतिक दल, नेता र जनप्रतिनिधिहरुले आवत–जावतलाई प्रोत्साह गर्ने भन्दा सामूहिक प्रयासमा राजधानीमा रहेका र समस्यामा परेका नागरिकलाई सहज जीवन–यापनमा सहजीकरण गर्नुपर्छ,’ ‘उहाँले भन्नुभयो, ‘स्थानीय तहले गर्नुपर्ने जिम्मेवारी हामीले सकेसम्म पूरा गर्ने प्रयास गरिरहेका छौँ । तर, हाम्रो मात्रै प्रयासले नपुग्ने रहेछ । सबैको सामूहिक प्रयास भयो भने मात्रै समस्याको समाधान गर्न सकिन्छ ।’

उहाँले मुख्य गरेर अतिविपन्न, असाहय र मजदुर वर्ग बढी समस्यामा परेको भन्दै उनीहरुको समस्या समाधानका बारेमा पनि गम्भीर भएर लाग्न आग्रह गर्नुभयो । ‘काठमाडौँमा अतिविपन्न, असाहय र मजदुर वर्ग सबैभन्दा बढी समस्यामा परेका छन्,’ उहाँले भन्नुभयो, ‘ती समूदायलाई खाद्यन्नको मात्रै व्यवस्था गरेर नहुने अवस्था छ । एउटै कोठामा धेरै जना मिलेर बस्नुपर्नेलगायतका समस्याले उनीहरु न्युनतम क्वारेण्टाइनको सुविधाबाट समेत बञ्चित छन् । हामीले आवत–जावतलाई कडाई गर्ने, सामाजिक दूरी कायम गर्ने जस्ता कुरालाई बेवास्था गर्ने र राजधानीमा संक्रमण फैलिने अवस्था आयो भने ती समूदाय थप समस्यामा पर्न सक्छन् । यो विषयमा पनि हामी सबैले गम्भीर भएर सोच्न जरुरी छ ।’

काठमाडौँ महानगरपालिकाबाट मात्रै लकडाउन अवधिभर ८० हजार बढीलाई राहत वितरण गरेको र एक लाख बढीलाई खाना खुवाउने काम गरेको भन्दै प्रमुख शाक्यले यसमा पनि व्यवहारिक कठिनाई हुने गरेको बताउनुभयो । ‘हामीले वडा–वडामा विभिन्न परोपकारी संस्थाहरुसँग समेत सहकार्य गरेर सामूहिक निशुल्क मेस चलाएका छौँ । ती मेसमा सामाजिक दूरी कायम गर्ने, खानाको गुणस्तरमा ध्यान दिने, अतिविपन्न, असाहय र मजदुरलाई प्राथमिकता दिने भनेका छौँ,’ शाक्यले भन्नुभयो, ‘निशुल्क भनेपछि लक्षित बर्ग बाहेक अरु पनि आउने भिडभाड हुने जस्ता समस्या आएका छन् । यसलाई न्युनिकरण गर्न पनि सामूहिक प्रयास आवश्यक छ ।’

कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सामूहिक प्रयास गरी काठमाडौँबासीलाई ढुक्कसँग बस्ने वातावरण निर्माणका लागि सबै राजनीतिक दल, संघ–संस्था र जिम्मेवार निकायसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको भन्दै प्रमुख शाक्यले यसका लागि सबैको एउटै धारण बन्नुपर्नेमा जोड दिनुभयो । ‘ठूला राजनीतिक दलका शीर्ष नेता र अहिलेको सरकारका मन्त्रीहरु समेत काठमाडौँबाटै जननिर्वाचित हुनुहुन्छ । त्यसैले मेयर एक्लैले बोलेर वा गरेर मात्रै पनि यो विपद्का बेला काठमाडौँवासीका लागि ढुक्कको वातावरण निर्माण हुँदैन’ उहाँले भन्नुभयो, ‘त्यसैले यस्तो बेलामा यो वा त्यो पार्टी भनेर कमीकमजोरी खोज्दै आरोप–प्रत्यारोप गर्ने भन्दा पनि काठमाडौँबासीलाई भयमुक्त वातावरण सिर्जना गर्नेतर्फ सामूहिक धारण बनाएर अघि बढ्ने कुरामा केन्द्रित हुनुपर्छ । सबैसँग मेरो आग्रह छ ।