जनता टाइम्स

२२ बैशाख २०७७, सोमबार १८:०९

नेकपाका कमरेडहरु ! बन्द गर्नाेस कोठे बैठक र गुटवन्दी


यो सरकारलाई असफल बनाएर आफ्नो सफलताको मापन गर्ने भुल नगर्नाेस । यो सरकार असफल हुने भनेको नेकपा नै असफल हुने हो । सचिवालयमा रहेका सवै नेता असफल सावित हुनु हो । त्यसैले सरकारलाई खुला हृदयले सघाउनोस, बन्द गर्नाेस कोठे बैठक र गुट भेला । तपाईंहरु आपसमा मिले फल पनि मिठो पाउनु हुन्छ । आपसमा जुधे समाप्त हुनुहुन्छ

नेत्रप्रसाद नेपाल

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएको यही जेठ ३ गते दुई बर्ष पुग्छ । जननेता मदन भण्डारीको स्मृति दिवसको दिन भएको त्यो एकीकरणले मदन भण्डारीले प्रतिपादन गर्नुभएको नेपाली परिवेशमा आधारित उन्नत तथा लोकतान्त्रिक पद्धति अनुरुपको नेपाली मौलिक विचार जनताको बहुदलीय जनवाद (जवज) एकीकरणसँगै समाप्त भयो वा अर्को महाधिवेशनसम्म मुल्तबीमा राख्ने काम भयो ? दक्षिण एशियाकै ठुलो कम्युनिस्ट पार्टी बनाउने कामले भैरहेको बलियो विशाल नेकपा एमालेको संगठन पनि धुलिसात भयो ? यो बहशकै बिषय छ । एकीकरणदेखि अहिलेसम्म धेरै तहको सांगठानिक एकता त टुङ्गियो तर पनि अझै पार्टीको, प्रवासको र सम्पूर्ण जनवर्गीय संगठनहरु निर्माण गर्न बिलम्व गरेर कम्युनिस्ट आन्दोलन तहसनहस नै छ । अहिलेको संगठन आधा शरिर शर्पको मुखभित्र पुगेर किरा खान लालयित भ्यागुतो जस्तो अवस्थामा छ ।

तात्कालिन माले र माक्र्सवादी एकीकरणलगत्तै भएको चुनावमा दोस्रो दल भएको एमाले अहिले एकीकरणपछि नेकपा बिनासंगठनको अवस्थामा छ । एकीकरण भएको संगठनको बैठक बस्न सकेको छैन । संगठन इन्चार्जमाथि गम्भीर आरोप लाग्दा संगठनका अध्यक्ष आरोप लगाउनेलार्ई सहयोग पुग्नेगरी वक्तव्य निकाल्छन । घरको बाउलाई बचाउन त के समाप्त पार्नुपर्छ भन्ने आसयका कुरा गरिन्छ । यसबाट एकीकरण मनमा हुन बाँकी नै रहेको तथ्य उजागर भएको छ । पार्टीको माथिल्लो कमिटीमा बसेर गुन्ह्यु चोली र दौरा सुरुवाल हातमा लिएर सार्वजनिक सञ्चार माध्यममा उफ्रने नेताहरु संगठन बनाउनेतिर होइन, आफ्नै दलको सरकार कसरी ढाल्ने ? कसरी मन्त्री बन्ने भन्ने ध्याउन्नमा मात्रै छन । पार्टीलार्ई विधी र पद्धतिमा चलाउन पर्छ भन्नेहरु विपक्षी भन्दा कडा अनि कठोररुपमा आफूलार्ई पद प्रप्तीका लागि पार्टीको प्रमुख तथा सरकार प्रमुखविरुद्ध लागेर कार्यकर्ता समेतलार्ई विभाजन गर्ने कोशिस गर्दैछन । अनि यस्ता नेताहरुबाट कार्यकर्ताले कस्तो व्यवहार सिक्छन ?

सम्पूर्ण संगठनको एकीकरण टुंग्याएर पार्टीका संगठित नेता तथा कर्याकर्ताहरुलार्ई राजनैतिक प्रशिक्षण दिएर खारिएको पार्टीको नेता–कार्यकर्ताका रुपमा विकास गरेर गाउँ गाउँमा संगठन सुदृढीकरण गर्नुका साथै कार्यकर्तालार्ई विकास निर्माण र जनसेवामा खटाउन पर्ने यो बेला पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णयसमेत कार्यान्वयन नगरी पार्टीका अध्यक्षदेखि सचिवालयका आदारणीय नेताहरु चुनावको बेला जनतामा कबोल गरेका पाँच बर्षे स्थायी सरकार दिने बाचाको विपरित जनमत, पार्टीको कार्यकर्ताको मतविरुद्ध हुने गरी अध्याँरो कोठामा बसेर गुटबन्दी गर्न थाल्नु कति लज्जास्पद कुरा होला ? विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइसरविरुद्ध सरकार लड्दै गर्दा जनताले समेत कुरीकुरी भन्ने गरी नाङ्गो रुपमा सरकारविरुद्ध जाइलाग्नु कति सान्दर्भिक थियो भन्ने त एक दिन कार्यकर्ताको सामु जवाफ दिनु नै पर्नेछ । स्टालिनको शब्द सापटी लिने हो भने कम्युनिस्टहरु फलामे अनुशासनमा बस्छन र यी बिशेष खालको धातुद्वारा निर्मित हुन्छन भन्ने कुरालार्ई समेत गिज्याउने गरी नेताहरुले व्यवहार देखाउँदा कार्यकर्तासमेत लज्जित महसुस गर्न बाध्य छन ।

यो समयमा सिंगो पार्टीको संगठनलार्ई जनताको जीउधनको सुरक्षाको निम्ति पार्टीले परिचालन गर्नुपर्ने हो । तर सबैको ध्यान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलार्ई अपदस्त गर्नेतिर किन ? आदारणीय नेतागणहरु, अहिले तपाईंहरू संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ । जनताको सेवामा लाग्नुपर्छ, पार्टीका कार्यकर्ता पैसामुखी भएको यो अवस्थालार्ई चिर्न राजनैतिक प्रशिक्षण चलाएर कार्यकर्ता तथा नेताहरुलार्ई पुर्ण रुपेण राजनीतिक, जनमुखी विकासप्रेमी बनाउन भुमिका खेल्न पर्ने होइन ? कार्यकर्ता परिचालन गरेर विकास निर्माणमा राज्यलार्ई सहयोग गर्नु पर्ने होइन र ? सरकारले पनि पार्टीका नेताहरुसँग छलफल गरेर जनताको मन छुने किसानमुखी, गरिबमुखी, निर्माणमुखी जनप्रिय नीती तथा कार्यक्रम र बजेट ल्याउन तयार हुनुपर्छ । जनता जब सरकारको कामबाट खुसी हुन्छन, संगठन बलियो बन्छ । सरकार बलियो बन्छ, कसैले हल्लाउन सक्दैनन । तसर्थ अब नेतृत्वको प्रमुख कार्यभार भनेको संगठन सम्पूर्ण रुपमा एकीकरण सक्ने, संगठन सुदृढीकरण गर्ने, कार्यकर्तालार्ई प्रशिक्षित गर्ने , परिचालन गर्ने, आगामी स्थानीय र संसदीय चुनावको तयारी गर्नेतिर हुनुपर्छ । टुटफुट होइन, सुदृढ एकतामा विश्वास गर्नुपर्छ । मनदेखिकै अन्तरघुलनसहितको सांगठानिक एकता तत्कालै सक्नुपर्छ । प्रतिस्पर्धा कसले धेरै र राम्रो काम गर्ने भन्नेमा हुनुपर्छ ।

पार्टीमा नेताहरूको अवस्था

नेकपा नेता नै नेता धेरै भएको पार्टी हो । कम्युनिस्ट पार्टी नीति प्रधान, विधी प्रधान पार्टी हो । पूर्वएमाले बनाउन महत्वपूर्ण भुमिका खेल्ने कमरेडहरु, पूर्वमाओवादी केन्द्र बनाउन भुमिका खेल्ने कमरेडहरु सबैैै आआफ्नो ठाउँमा सक्षम, क्रियाशील, ज्ञानका धनी हुनुहुन्छ । सबैलार्ई कार्यकर्ताले सम्मान गर्छन । हरेक महत्वपूर्ण जङ्चरमा साथ दिँदै आएका पनि छन । नेताहरूले विभिन्न जटिल आन्दोलनको नेतृत्व पनि गर्नुभएको छ । पार्टी बनाउन दुःख, त्याग, तपस्या पनि गर्नुभएको छ । नेताहरू हाम्रो आदारणीय पनि हुनुहुन्छ । सबैको आफ्नो आफ्नो औकात, हैसियत र योगदान पनि छ । जे जस्तो भए पनि हाम्रो देशको नेता तपाईंहरू नै हो । तपाईंहरू भन्दा अरु जान्ने सुन्ने भएको भए अरु नेता भइहाल्थे नि । भएकामध्य तपाईंहरू नै हो नेता । भएन भनेर अन्तबाट आयात गर्ने कुरा पनि होइन, संभव पनि छैन ।

अहिले हामीसँग भएको नेताहरु तपाईंहरु नै हो, कसैले मानोस या नमानोस । तसर्थ तपाईंहरु मदन भण्डारी, पुष्पलाल त बन्न सक्ने कुरा भएन । मदन भण्डारीले भन्नुभएको जस्तो नियत नवाङ्गिएको असल इमान्दार नेताहरु बनिदिनुस । पहिलो पुस्ताका बुढा नेताहरुले दोस्रो पुस्ताकालार्ई असल र सही कुरा सिकाउनुस, घरको झ्याल ढोका थुनेर अँध्यारो कोठामा पाँच सात जना राखेर कसैको विरुद्ध मोर्चावन्दी नगर्नुस । हिजो आफैंलाई पन्ध्रौं बर्ष सहयोग गर्ने सहकर्मीविरुद्ध मोर्चा कस्ने अनि झर्ला र खाउँला भन्ने आश मारिदिनुस । यस्तो कर्म पाप कर्म हो । हामी आफ्नो मेहनतमा विश्वास गर्छौं भने अरुको मेहनत खोस्न नलाागौं । तपाईंहरू हामीलार्ई नउकास्नुस, हामीलार्ई नबिगार्नुस हामीलार्ई अरुको विरुद्ध कुरा नलगाउनुस, आफ्नो मेहनतमा पार्टीको संगठनमा, कार्यकर्तामा विश्वास गर्नुस, कार्यकर्ताको मन जित्नुस, हामीलार्ई घुम्न छोडिदिनुस भनेर दोस्रो पुस्ताका नेतालार्ई भन्न सक्नु हुन्न ? यसले संगठनमा मित्रता कायम गराउँछ ।

कुरा लगाउने, आफ्नो पौरखमा, मेहनतमा विश्वास नगर्ने केही दोस्रो पुस्ताका लाछी, हुतिहारा गणेश प्रवृत्ति अन्त गर्न जुन दिनसम्म पहिलो पुस्ताले निर्णायक भुमिका खेल्दैन, डबल होइन त्रिपल पिएचडी गर्नेहरु पनि तपाईं पहिलो पुस्तालार्ई घुमेर खान चाहान्छन । तपाईंहरूलार्ई उचालेर खान खोज्नेहरुलार्ई पुरस्कार होइन, दण्डित गर्नुस त । को आउँछ कुरा सुनाउन ? केही दोस्रो पुस्ताकाहरुलार्ई आँफैप्रति र संगठनप्रति विश्वास नै छैन । तसर्थ कमरेडहरु अहिले प्रधानमन्त्री केपी शर्माको सरकारलार्ई सफल पार्न सबैले सहयोग गरौं । सरकार ढाल्न खोज्दानै धेरै गुमिसकेको छ, ढाल्दा हामी सकिन्छौं । प्रथम पुस्ता जीवनको उत्तरार्धमा यस्तो अलोकतान्त्रिक, अलोकप्रिय र अस्वस्थ काममा नलागौं । धेरै पटक मन्त्री भएकालार्ई फेरि मन्त्री नबनाऔं र तपाईंहरुलार्ई रिझाएर खानपर्ने केही दोस्रो पुस्ताकाहरुलार्ई सम्झाऔं ।

यो सरकार भन्दा बाहेक अब नेकपाले सरकार बनाउन नसक्ने जस्तो गरेर यो नै नेकपाको अन्तिम सरकार जस्तो गरेर अर्थात आफू आफ्नो नेतृत्वप्रति विश्वास नभए जस्तो टुटे जस्तो गर्ने, यो नै अन्तिम भोज हो, अब भोज खान पालो आउँदैन भने जस्तो गरेर दुनियाँ नहसाउन प्रथम पुस्ताका सचिवालयमा रहनु हुने नेताहरुलार्ई आग्रह गर्दछु । हाम्रो आफ्नो तर्फबाट विश्वास तपाईंहरु नै हुनुहुन्छ । तसर्थ पार्टीलार्ई एकढिक्का बनाउन नदिन खोज्ने स्वार्थ समुहहरुसँग सजग रहन पनि जरुरी छ । तपाईंहरु विचौलिया, माफिया, दलाल सबैसँग टाढा बस्नुस, संगठनको संरक्षण गर्नुस । यसलार्ई नभत्काइ दिनुस, हाम्रो यत्ति हो चाहाना छ ।

संगठन निर्माणमा कार्यकर्ताको भुमिका

नेकपा विशाल छ, धेरै कार्यकर्ताहरु छन, धेरै तहको कार्यकर्ता छन, हाम्रो पार्टीमा । संगठनको मेरुदण्ड हुन कार्यकर्ता । यिनकै बलमा संगठन बन्छ, यिनैले हो गाउँ गाउँमा खटेर संगठन मजवुत बनाउने । चुनावमा नेता बनाएर पठाउने धेरै कार्यकर्ता जो गाउँ घरमा बस्छन, नेताहरुसँग गाउँको विकास निर्माणमा सहयोगको अपेक्षाबाहेक यिनले अरु चाहाँदैनन । यस्ता इमानदार, लोभपाप नभएका पार्टीको काममा खट्ने कसैको घरदैलो नचाहार्ने कार्यकर्ताको माथि पहुँच पनि हुन्न । उनको कुरा सुन्ने मानिस पनि हुन्न, यिनैले हो संगठन धान्ने चाहिँ । अर्को खालका नगदेवाली जस्तो हातहाती चाहाने, पैसा नभइ नहिंड्ने विचौलिया, सबै प्रकारका दलाली गर्ने अवसर छोप्ने नेताहरुको नजिक पर्ने काम भन्दा पैसामा विश्वास गर्ने, कुरा राम्रो गरेर राम्रा ठाउँमा नियुक्ति खाने अनि चुपचाप बस्ने । हामीले पहिलो खालका कार्यकर्ताको संरक्षण गर्ने, उनीहरुलार्ई अझै प्रशिक्षित गर्ने काम गर्नुपर्छ । तर हिजोआज टाठाबाठाहरु, धनीहरु काम नगर्ने, कुरा गर्नेहरुको बढी बोलवाला छ । यसको अन्त जरुरी छ ।

निष्कर्ष

असल कार्यकर्ताहरुको संरक्षण गर्ने, उनीहरुलाई संगठन निर्माणमा परिचालन गर्ने, विकास निर्माण र जनसेवामा उनीहरुलार्ई खटाउने, जनता संगठनमा गोलबन्द गर्ने, जसबाट संगठन बिलियो हुन्छ । बलियो संगठन हुँदा पचासौं बर्ष नेकपाले जित्छ, फेरि हाम्रो पालो आउँछ । हामी प्रधानमन्त्री, मन्त्री बनौंला भनेर सकारात्मक सोचाइ नेतृत्व तहमा रहनुहुने आदारणीय नेताहरुको हुन जरुरी छ । हामी नै हौं नेता भनेर नेतृत्व आपसमा वैमनस्यता त्यगागेर कुरौटेहरुसँग टाढा रहँदै सबैको माया, ममता पाउने गरी देश, जनता, तल्ला तहका कार्यकर्ता सम्झेर अहिले सरकार सफल पार्नुस । यो सरकारलाई असफल बनाएर आफ्नो सफलताको मापन गर्ने भुल नगर्नाेस । यो सरकार असफल हुने भनेको नेकपा नै असफल हुने हो । सचिवालयमा रहेका सवै नेता असफल सावित हुनु हो । त्यसैले सरकारलाई खुला हृदयले सघाउनोस, बन्द गर्नाेस कोठे बैठक र गुट भेला । तपाईंहरु आपसमा मिले फल पनि मिठो पाउनु हुन्छ । आपसमा जुधे समाप्त हुनुहुन्छ । त्यसपछि नरहे बाँस नबजे बाँसुरी । चेतना भया ।

(लेखक नेपाल नेकपा धादिङ जिल्ला कमिटी सदस्य हुनुहुन्छ)