जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार ०९:१४

कामिरिताको अर्को किर्तिमान : २४ औं पटक सगरमाथाको आरोहण


काठमाडौं ।

नेपाली आरोही कामिरिता शेर्पाले २४औँ पटक सगरमाथा आरोहण गरेर केही दिनअघि राखेको आफ्नै किर्तिमान भंग गर्नुभएको छ । उहा मङ्गलवार बिहान ६ बजेर ३८ मिनेटमा विश्वको सर्वोच्च शिखरको चुचुरोमा पुग्नु भएको पर्यटन विभागका अधिकारीहरूले पुष्टि गरेका हुन् ।

सोलुखुम्बुको थामे गाउँका ४९ वर्षीय कामिरिताले आफ्नै नाममा रहेको धेरै पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गर्नुभएको छ । सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने आरोहीको सूचीमा दोस्रो स्थानमा रहेका आरोहीहरूभन्दा उहाले तीन आरोहण बढी गर्नुभएको छ । उहाको लक्ष्य अझै एक पटक सगरमाथा चढ्ने रहेको छ ।

दोस्रो स्थानमा रहेकाहरूमध्ये पर्वतारोहणमा सक्रिय ङिमा नुरु शेर्पा तिब्बततर्फबाट २२औँ आरोहणका लागि प्रयासरत रहनु भएको छ । कामिरिता शेर्पाको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले भारतीय प्रहरीको टोलीको नेतृत्व गर्दै उहाले शनिवार आरोहण सुरु गर्नुभएको जानकारी दिनुभयो ।

कामिरिताले यसअघि मे १५ मा २३ औँ पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राख्नुभएको थियो । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गर्नुभएका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने घोषणा गरिसक्नु भएको छ । कामिरिताले एकै याममा दुई पटक सगरमाथा चढेको यो चौथो पटक हो।

यसअघि उहाले पनि तीन आरोहण याममा दुई दुई पटक सगरमाथा चढिसक्नु भएको छ । उहाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढ्नु भएको थियो । सन् २०१२ मा पनि कामिरिताले दुई पटक चुचुरोमा पुग्नु भएको थियो । तर आधार शिविर नआइकन चौथो शिविरबाटै पुनः माथि लागेकोले त्यसले छुट्टै आरोहणको मान्यता पाएन।