जनता टाइम्स

३ जेष्ठ २०७७, शनिबार ११:१९

प्रदेश–२ का आठै जिल्लामा फैलियो कोरोना, हालसम्म २५ जिल्लामा देखियो संक्रमण


काठमाडौं, जेठ ३

भारतसँग सीमा जोडिएको प्रदेश–२ का आठै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । शनिवार विहान ६ जना भेटिएका संक्रमित मध्ये एक जना सिरहाका रहेको खुलेको हो । यसअघि सातै जिल्लामा कोरोनाका संक्रमित देखिएका थिए ।

राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा संक्रमण भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया नार्खु ११ का २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वर्षीय पुरुष, पर्सा वीरगञ्‍ज १२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर ४ का १८ वर्षीया महिला र चितवन गढौली १ का २५ वर्षीया महिलामा संक्रमण भेटिएको जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरूको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २७३ पुगेको छ ।

हालसम्म प्रदेश–२ मा शनिवार विहानसम्म १ सय ७ जना संक्रमित फेला परेका छन् । जसमध्ये सबैभन्दा धेरै पर्सामा ९१ जना रहेका छन् । यस्तै, धनुषामा चार, बारामा तीन, रौतहटमा तीन, महोत्तरीमा दुई, सर्लाहीमा तीन, सप्तरी र सिरहामा एक एक जना रहेका छन् । सिरहासँगै हालसम्म २५ जिल्लामा कोरोना संक्रमण फैलिएको देखिएको छ । ती मध्ये अधिकाशं भारतसँग सीमा जोडिएका जिल्ला र संघीय राजधानी रहेका छन् ।