जनता टाइम्स

१० जेष्ठ २०७७, शनिबार १५:१३

चीनमा पहिलो पटक कोरोना संक्रमण शून्य


काठमाडौं, जेठ १० । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को उदगमस्थल चीनमा पहिलो पटक कोरोना संक्रमित शून्य देखिएको छ । गत वर्षको डिसेम्बर महिनामा कोरोना भाइरसको संक्रमण सुरु भएयता पहिलो पटक शुक्रबार चीनमा कसैलाई पनि संक्रमण नदेखिएको हो ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा एक जनामा पनि कोरोना संक्रमण देखिएको छैन । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाले विश्वव्यापी महामारीको रुप लिँदै अहिलेसम्म ३ लाख ४० हजार भन्दा बढीको ज्यान लिइसकेको छ । तर कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने मार्चबाटै संक्रमण तीव्र रुपमा घट्दै आएको थियो । अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चीनमा बाहिरबाट आएका व्यक्तिमा भने संक्रमण बढिरहेको छ । यसमा विदेशबाट फर्किएका चिनियाँ नागरिक रहेका छन् ।

पछिल्लो समय चीनको पूर्वोत्तर सीमावर्ती जिलिन र हेइलोङजियाङ प्रान्त संक्रमणको इपिसेन्टरबन्दै गएको बताइएको छ । उद्गमस्थल वुहानमा पनि गत अप्रिल ८ तारिखबाट लकडाउन हटाइएको छ । तर यो महिना वुहानका केही ठाउँमा संक्रमित भेटिएका छन् । महामारी रोक्न भन्दै वुहानका एक करोड १० लाख व्यक्तिको परीक्षण भइरहेको पनि चिनियाँ अधिकारीले जनाएका छन् ।

यो समाचार तयार पार्दासम्म (शनिवार अपरान्ह) चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार ९ सय ८१ पुगेको छ । त्यस्तै ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये ७८ हजार २ सय ५८ जना निको भएको वल्डोमिटर्सले जनाएको छ । चीनबाट सु्रु भएको कोरोना महामारीले युरोप हुँदै अहिले अमेरिकालाई इपिसेन्टर बनाएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १६ लाख ४५ हजार ३ सय ५३ जना संक्रमित भएका छन भने ९७ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ ।