जनता टाइम्स

१८ जेष्ठ २०७७, आईतवार १२:१०

सुरेन्द्र पाण्डेको नजरमा यसकारण सही छ बजेट


काठमाडौं, जेठ १७ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७७/०७८ को बजेट सही र यथार्थपरक रहेको बताउनु भएको छ । बजेटमाथिको सैद्दान्तिक छलफलमा भाग लिँदै नेकपाका नेतासमेत रहनुभएका पूर्वअर्थमन्त्री पाण्डेले बजेटको लक्ष र प्राथमिकता सही रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको हो । बजेटको आधार ठूलो भएको भन्ने केही बिपक्षी नेता र अर्थशास्त्रीको भनाई सही नभएको भन्दै उहाँले बजेट महत्वाकांक्षी नभएको तर कार्यान्वयन भने चुनौतीपुर्ण रहेकोले बिशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

‘बजेट महत्वाकांक्षी छैन, कार्यान्वयन चुनौतीपुर्ण नै छ, चालू खर्च अधिकतम कटौती गर्ने अर्थमन्त्रीको घोषणा स्वागतयोग्य छ,’ पाण्डेले भन्नुभयो । उहाँले संघको बजेट खुम्चिएको अवस्थामा पनि प्रदेश र स्थानीय तहको बजेट नघटाउनु अत्यन्तै सकारात्मक रहेको बताउनु भयो । ‘प्रदेश र स्थानीय तहको बजेट घटाएको छैन, यो अत्यन्तै सकारात्मक छ, स्वास्थ्यमा बजेट अत्याधिक बढेको छ, यो निकै सकारात्मक छ,सामाजिक सुरक्षामा एकल महिलाको बजेट कतौटी भएको भन्दै प्रश्न उठाइएको थियो, ती कुनै कटौती नगरी बजेट बिनियोजन गरिएको छ । यी सकारात्मक छन,’ पूर्वअर्थमन्त्री पाण्डेले भन्नुभयो ।

बजेटमा रोजगारी सिर्जनाको सवालमा पनि सही कदम चालेको उहाँले बताउनु भयो । ‘रोजगारीको सवालमा १८ अर्व रुपैया सिधै नेपाल सरकारको कोषबाट खर्च गर्ने कुरा गरेको छ । रोजगारी निर्माणको सवालमा राम्रो छ । तर सरोकारवाला मन्त्रालय र अर्थ मन्त्रालयसहितको टिम बनाएर अनुगमन गर्ने ब्यवस्था मिलाउनु पर्छ । कृषिमा पनि बजेट बढाएको छ । कृषकहरुलाई बाली लगाउनु पर्व नैआधार मुल्य दिन्छु भनेर किसानलाई मनोवल उच्च बनाइएको छ । भूमि बैंक स्थापना पनि सकारात्मक छ,’ पाण्डेले भन्नुभयो, ‘कृषि क्षेत्रलाई नयाँ ढंगले सोच्नुपर्ने खाँचो छ । आयात बढेको छ । कृषिमा अलिकति बजेट कम भयो कि भन्ने मलाई पनि लागेको छ । खरिद गर्न पैसा बढाउनुपर्छ ।’

उहाँले बजेटको कार्यान्वयनमा सवै एक भएर लाग्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो। ‘उद्योग ब्यवसायको क्षेत्रमा ५० अर्वको कोष बनाएर पैसा दिन्छु भन्नु सकारात्मक कुरा हो । यति हुँदा हुँदै पनि समयमै त्यो कोषमा पैसा जम्मा हुन्छ कि हुँदैन भन्ने कुरा आउँछ । स्वदेसी उद्योगलाई संरक्षण दिन फर्निचर आयातममा अन्तशुल्क लगाउनु सकारात्मक नै छ,’ पूर्वअर्थमन्त्री पाण्डेले भन्नुभयो ।