जनता टाइम्स

१९ जेष्ठ २०७७, सोमबार १३:३१

भैरहवाको भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या २४९ पुग्यो


काठमाडौँ,  जेठ १९। भैरहवाको भीम अस्पतालमा उपचाररत २५ जना कोरोना भाइरस संंक्रमित सोमबार बिहान डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा चार वर्षकी बालिकासमेत छन् । यो सगै नेपालमा निको हुनेको संख्या २ सय ४९ पुगेको छ ।

अस्पतालका अनुसार, रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना डिस्चार्ज भएका हुन् । उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो ।

भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन् । गैडहवा गाउँपालिकाका एकै घरका ६ जना थिए । भारतको उत्तर प्रदेश राज्यको गोण्डा घर भएका अर्का भारतीय नागरिकलाई लकडाउनका कारण स्वदेश जान नपाएपछि भैरहवाको निमा प्रतिमान स्मृति अध्ययन प्रतिष्ठानको क्वारेन्टाइनमा अन्य भारतीय नागरिकसँगै राखिएको थियो । स्वास्थ्य जाँच गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले उपचारमा आएकामध्ये केहीलाई सामान्य श्वासप्रश्वासमा र उच्च रक्तचाप देखिए पनि अन्य गम्भीर समस्या नरहेको बताउनुभयो । उहाँका अनुसार, उपचारका लागि भीम अस्पतालमा ल्याइएका कोरोना संक्रमितको यो समूह पहिलो हो । उनीहरु सवैजना डिस्चार्ज भएपछि अस्पताल खाली भएको छ । उनीहरुलाई पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर बिदाई गर्नुभएको थियो ।