जनता टाइम्स

२२ जेष्ठ २०७७, बिहीबार ०८:२२

स्वीकृत कार्यक्रमअनुसार नै राष्ट्रपति कार्यालयमा भूकम्पबाट क्षतिग्रस्त संरचना मर्मतको काम


काठमाडौं, असार २२ । शहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय सम्बद्ध भवनमा नियमितरुपमा गरिनुपर्ने मर्मतसम्भार कार्य नै भइरहेको प्रष्ट पारेको छ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक शीतल निवासलाई अत्यावश्यक मर्मतसम्भार गर्दै राष्ट्रको सर्वोच्च संस्था राष्ट्रपति कार्यालयको दैनिक कार्य सञ्चालनलाई सहज तुल्याउन निरन्तर परिमार्जन गर्ने क्रममा आर्थिक वर्ष २०७६/७७ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार काम भएको मन्त्रालयले प्रष्ट पारेको हो ।

मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट नियमित प्रक्रिया पु¥याई राष्ट्रपतिको आवास भवनमा रहेका विशिष्ट स्वदेशी तथा विदेशी पाहुनासँग भेटघाट गर्ने बैठक कक्षमा फ्लोरिङ तथा फर्निसिङ, शौचालयको मर्मत र व्यवस्था तथा कार्यालय भवनमा लिफ्ट जडानलगायत अत्यावश्यक कार्यका लागि रु एक करोड ५७ लाख ६ हजार ८८४ को बोलपत्र स्वीकृत भएको मन्त्रालयले बिज्ञप्चीमार्फत प्रष्ट पारेको हो ।

राष्ट्रपति भवन शीतल निवासमा तोकिएको डिजाइन र साइजको नेपाली ऊनी गलैँचा आपूर्ति गर्ने कार्यको कबोल अंक मूल्यअभिवृद्धि करबाहेक रु २७ लाख १२ हजार १५० को बोलपत्र छनोटसम्बन्धी आशयको सूचना प्रकाशन भएको तथ्य जानकारी हुँदाहुँदै राष्ट्रपति कार्यालयजस्तो गरिमामय संस्थाको मर्यादा र राष्ट्रपतिको छविमा आँच पुग्ने गरी एक दैनिक पत्रिकामा भ्रामक समाचार प्रकाशन भएकोमा मन्त्रालयले खेद व्यक्त गरेको छ । यस्ता संवेदनशील विषयमा समाचार प्रकाशन गर्दा सम्बन्धित निकायका आधिकारिक पदाधिकारीबाट सत्यतथ्य सूचना लिई सर्वसाधारणलाई यथार्थ सूचना सम्प्रेषण गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।