जनता टाइम्स

८ जेष्ठ २०७६, बुधबार १६:११

हेटौंडामा स्मार्ट कार्ड वितरण सुरू


हेटौंडा, जेठ ८

प्रदेश नं ३ को मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री डोरमणि पौडेलले यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाद्वारा सुरू गरिएको प्रदेश नं ३ को अस्थायी राजधानी हेटौंडामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड वितरण कार्यको आज शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले सवारी अनुमतिपत्र स्मार्ट कार्ड प्राप्त गर्ने २६ जनामध्ये नारायणी यातायात संघका पूर्वअध्यक्ष माधव अधिकारी, हेटौंडा उद्योग संघका पूर्वअध्यक्ष ऋषिराम घिमिरे, समाजसेवी सुयस पराजुली, केशवलाल श्रेष्ठ र महिला सेवाग्राही सुरक्षा पौडेललाई स्मार्ट कार्ड वितरण गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले यातायात क्षेत्रमा देखिएको अनियमित कार्य र विसंगतिलाई अन्त्य गरी सेवाग्राहीलाई सहज र सुलभ सेवा उपलब्ध गराउन प्रदेश सरकारको उच्च प्राथमिकता रहेको बताउनुभयो । प्रदेश सरकारले अब छ महिनाभित्र प्रदेशको १३ जिल्लामा स्थायी राजधानी तोकिएपछि हेटौंडाबाटै नियमित स्मार्ट कार्ड वितरण गर्ने प्रणाली लागू गर्न गृहकार्यका साथ प्रक्रिया अघि बढाइसकेको उहाँले स्पष्ट पार्नुभयो ।

यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख पोषण थापाले स्मार्ट कार्ड वितरण अभियानलाई निरन्तरता दिने र नयाँ सेवाग्राहीका लागि सवारी अनुमतिपत्र दुई महिनाभित्रै वितरण गर्ने कार्यलाई सहज पार्न प्रक्रिया सुरू भइसकेको जानकारी दिनुभयो ।

सेवाग्राहीका तर्फबाट नारायणी यातायात संघका पूर्वअध्यक्ष गोकर्ण पराजुली र माधव अधिकारीले यातायात क्षेत्रबाट सेवाग्राहीलाई दिँदै आएको कर दस्तुरलाई प्रदेश सरकारले पुनः समीक्षा गरी करको दरलाई घटाउन आग्रह गर्दै यातायात कार्यालयले १३ वटै जिल्लाबाट आएका सेवाग्राहीलाई निष्पक्ष एवं पारदर्शी र व्यवहारिक अनुकूलता हेरी स्मार्ट कार्ड र यातायात व्यवसायीलाई सवारीको साधनलाई नवीकरण गर्ने कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो ।