जनता टाइम्स

२६ जेष्ठ २०७७, सोमबार १३:२४

कानूनमन्त्री तुम्बाहाम्फेको निश्कर्ष : क्षमताको आधारमा मात्रै महिलाको सहभागिता बढाउनुपर्छ


काठमाडौं, जेड २६ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले क्षमताको आधारमा मात्रै महिलाको सहभागिता बढाउनुपर्ने बताउनु भएको छ । आफ्नो मन्त्रालयको आगामी वर्षको कार्यक्रम र बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधिसभाको आजको बैठकमा जवाफ दिँदै मन्त्री तुम्बाहाम्फेले महिला भएकै कारण प्रतिनिधित्व बढाउनुपर्छ भन्दा पनि क्षमताको आधारमा महिला सहभागिता बढाउनुपर्ने बताउनु भयो ।

‘हामीले संविधानअनुसार नै महिलाको सहभागिता बढाउँदै जाने हो । महिलाले हक अधिकारको कुरा गर्दा आफ्नो कर्तव्यको कुरा पनि के हो भन्ने बुझ्नुपर्छ,’ मन्त्री तुम्वाहाम्फेको भनाई थियो । उहाँले समान सहभागिताका लागि माग गर्दै गर्ला महिलाहरूले क्षमता अभिवृद्धिमा पनि ध्यान दिनुपर्ने पनि बताउनु भयो ।

‘महिलाले महिलासँग मात्रै होइन, पुरुषसँग पनि प्रतिस्पर्धा गर्नसक्ने हुनुपऱ्यो । यो महिलाको मात्रै मुद्दा होइन, संविधानमा गरिएको व्यवस्थाअनुसार सहभागिता नभएको अवस्था भए पनि त्यसको सुधार गर्नुको विकल्प छैन,’ मन्त्री तुम्बाहाम्फेले भन्नुभयो । उहाँले समाजमा देखिएका अप्ठ्यारा कुराहरूको समाधानका लागि ऐन कानुन नै एक मात्र विकल्प भएको धारणासमेत राख्नुभयो । सत्य निरुपण तथा मेलमिलाप तथा द्वन्द्वकालीन मुद्दा समाधानका लागि बजेटको अभाव नभएको प्रष्ट पार्दै उहाँले यो समस्याको छिट्टै समाधान हुने जानकारी पनि दिनुभयो ।